लिम्बू समुदायको मौलिक कथा, मुन्धुम, संस्कृति तथा जीवनदर्शनलाई चलचित्रको माध्यमबाट व्यापक रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित आयोजित “लिम्बू चलचित्र निर्माण तथा बजार सम्भाव्यता अध्ययन कार्यशाला” सम्पन्न भएको छ ।
चलचित्र विकास बोर्डको आर्थिक सहयोग तथा सहकार्यमा याक्थुङ मुन्चइत चोक सयङ संघीय समितिले आयोजना गरेको उक्त कार्यशाला २०८३ जेठ ३१ गते ललितपुरस्थित दरबार रेट्रो पार्टी प्यालेसमा सम्पन्न भएको हो । समापन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
जेठ २५ गतेदेखि सञ्चालन भएको एकहप्ते कार्यशालाको समापनसँगै “लिम्बू चलचित्र विमर्श” कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा लिम्बू चलचित्रका मौलिक विषयवस्तु, निर्माण प्रक्रिया, अभिनय शैली, प्राविधिक गुणस्तर, प्रदर्शन, प्रवर्द्धन तथा बजार विस्तारका सम्भावनाबारे सरोकारवालाबीच विस्तृत छलफल भएको थियो ।
विमर्श कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, नेपाल आदिवासी जनजाति महासङ्घ, आदिवासी जनजाति चलचित्र महासङ्घ तथा किरात याक्थुङ चुम्लुङ लगायत विभिन्न चलचित्र तथा सांस्कृतिक संस्थाका प्रतिनिधि, चलचित्रकर्मी, प्रशिक्षक र सहभागीहरूको उपस्थिति रहेको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दिनेश डीसीले नेपालका विविध भाषा, संस्कृति र समुदायमा रहेका मौलिक कथाहरू राष्ट्रिय चलचित्र क्षेत्रका बहुमूल्य सम्पत्ति भएको बताउनुभयो । उहाँले मातृभाषामा आधारित चलचित्रको गुणस्तरीय निर्माण, प्रवर्द्धन र बजार विस्तारका लागि अध्ययन, प्रशिक्षण तथा संस्थागत सहकार्यलाई निरन्तर अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यशालामा मुन्धुमविद् डीबी आङबुङ ले मुन्धुम र याक्थुङ सभ्यताबीचको सम्बन्ध, कथ्य संरचना, पात्र निर्माण, सांस्कृतिक प्रतीक, मौखिक परम्परा तथा अभिनयकलासम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो । त्यसैगरी चलचित्र निर्देशक तथा प्रशिक्षक नवीन सुब्बा ले लिम्बू कथा संरचना, मुन्धुमी कथन शैली, पूर्वीय र पश्चिमी कथन पद्धतिको तुलना तथा लिम्बू अभिनयको विशिष्टताबारे सहभागीलाई प्रशिक्षण प्रदान गर्नुभयो ।
प्रशिक्षण अवधिभर लिम्बू समुदायका मौलिक कथा, मिथक, पात्र, संस्कार तथा सामुदायिक अनुभवलाई पटकथा लेखन, दृश्य निर्माण, पात्र विकास र अभिनयमार्फत चलचित्रमा रूपान्तरण गर्ने विषयमा प्रस्तुति, अभ्यास तथा अन्तरक्रिया सञ्चालन गरिएको थियो ।
कार्यशालामा लेखक, निर्देशक, निर्माता, कलाकार, छायाकार, सम्पादक, गायक तथा चलचित्र अध्ययन र अनुसन्धानमा संलग्न विभिन्न जिल्लाका ३७ जना सहभागी भएका थिए ।
आयोजकका अनुसार उक्त कार्यशालाले लिम्बू समुदायको सांस्कृतिक सम्पदा र मौलिक कथालाई संरक्षण गर्दै आधुनिक चलचित्र निर्माण तथा बजार प्रणालीसँग जोड्ने ज्ञान, सीप र साझा दृष्टिकोण विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ ।