सामाजिक कथावस्तुमा आधारित फिल्म ‘हली’को टिजर सार्वजनिक गरिएको छ । आगामी साउन २२ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको प्रचार अभियानलाई तीव्रता दिँदै निर्माण टिमले एक मिनेट २८ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो ।
सार्वजनिक टिजरले नेपाली समाजमा अझै विद्यमान छाउपडी प्रथाको पीडादायी यथार्थलाई केन्द्रमा राखेको छ । फिल्मका लेखक तथा निर्देशक ओम प्रतिक स्वयं मुख्य भूमिकामा देखिएका छन् । उनीसँगै सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय रहेको छ ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको ‘हली’मा व्यवसायी पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको छ । केही साताअघि सार्वजनिक गरिएको प्रमोसनल गीतले समेत दर्शकमाझ राम्रो चर्चा बटुलेको थियो । उक्त गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष नृत्य प्रस्तुति समावेश छ ।
फिल्मको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् भने केही गीतमा ओम प्रतिक र कविराज गहतराजको संयुक्त कोरियोग्राफी रहेको छ । कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्माता नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्मचारी तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेका छन्।
राहुल राईको छायांकन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन रहेको फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ । जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरीको संगीत रहेको गीतमा बाबुल गिरी र शान्तिश्री परियारको स्वर रहेको छ । कुमार महर्जनले द्वन्द्व निर्देशन गरेको फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ ।
फिल्मको प्रचारप्रसारका लागि विदेशमा रहेकी अभिनेत्री सुजता थापा पनि नेपाल आइसकेकी छन् । निर्माण पक्षका अनुसार उनी फिल्मको प्रवर्द्धन अभियानमा सक्रिय रूपमा सहभागी हुनेछन् ।