नेपाली चलचित्र ‘बाः एक योद्धा’ले नेपाली समाजमा बुवाले परिवार र सन्तानको भविष्यका लागि गर्ने त्याग, संघर्ष र जीवनभर सामना गर्ने कठिनाइलाई मुख्य विषयवस्तु बनाएको छ । कथाको केन्द्रमा बुवा पात्र रहे पनि उक्त भूमिकामा को कलाकार छन् भन्ने विषय निर्माण टिमले अझै गोप्य राखेको छ ।
निर्माण पक्षले पछिल्ला दिनहरूमा कलाकारहरूको नाम क्रमशः सार्वजनिक गरिरहेको छ । केही दिनअघि सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापालाई सार्वजनिक गरिएको थियो । यसअघि झरना थापा, सुहाना थापा र दिव्यदेव पन्तको नाम घोषणा भइसकेको छ । तर, चलचित्रको मुख्य पात्र ‘बा’को परिचय भने अझै खुलाइएको छैन ।
चलचित्रको छायांकन सम्पन्न भइसकेको छ भने पोस्ट–प्रोडक्सनको काम पनि सुरु भइसकेको निर्माण टिमले जनाएको छ । निर्देशक हरि लम्सालका अनुसार चलचित्रसँग सम्बन्धित थप जानकारी क्रमशः सार्वजनिक गरिनेछ । उनले ‘बा’को भूमिकामा रहेका कलाकारको नाम पनि उपयुक्त समयमा सार्वजनिक गरिने बताए ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको ‘बाः एक योद्धा’ कुसे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउँदैछ । कथावस्तुसँग मेल खाने गरी प्रदर्शन मिति तय गरिएको निर्माण पक्षको भनाइ छ ।
नेपाली संगीत क्षेत्रमा दर्जनौँ लोकप्रिय गीत सिर्जना गरिसकेका हरि लम्सालका लागि यो पहिलो फिचर फिल्म निर्देशन हो । आर्टिस्टिक इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा र पटकथा पनि उनले नै लेखेका हुन् ।
चलचित्रका निर्माता वसन्त लम्साल हुन् । शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ । यस चलचचित्र भदौ १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।