नेपाली चलचित्र ‘अक्षरा’को छायांकन सम्पन्न भएको छ । कलाकार तथा प्राविधिकहरूको समर्पित मेहनतका कारण निर्माण टोलीले पूर्वनिर्धारित कार्यतालिका अनुसार ३७ दिनमै सम्पूर्ण सुटिङ सफलतापूर्वक पूरा गरेको जनाएको छ ।
निर्देशक विनयराज पौडेलले सम्पूर्ण टिमको उत्कृष्ट सहकार्य र अथक परिश्रमकै कारण निर्धारित समयमै छायांकन सक्न सम्भव भएको बताउँदै सबै कलाकार तथा प्राविधिकप्रति आभार व्यक्त गरेका छन् ।
चलचित्रका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्माताको जिम्मेवारी सुरज थापाकाजी र सुमन ज्योति न्यौपानेले सम्हालेका छन् । चलचित्रको कथा उग्रसेन ढुङ्गानाले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक विनयराज पौडेलले तयार गरेका छन् ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको ‘अक्षरा’मा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य अभिनय रहनेछ । साथै, बालकलाकार रोनक खड्का र प्रीसा ढुङ्गानाले पनि चलचित्रमा अभिनय गरेका छन् ।
दिपेन बस्न्यातको छायांकन रहेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन, मदन न्यौपानेको श्रृङ्गार, प्रार्थना भट्टराईको भेषभूषा तथा सुमन काफ्लेको निर्माण व्यवस्थापन रहेको छ । मुख्य सहायक निर्देशकका रूपमा दिवस विक्रम बोहोरा रहेका छन् भने मनोज बोहोरा र सौरभ शाह सहायक निर्देशक हुन् ।
राकेश दाहालले पोस्टर डिजाइन गरेको यो चलचित्र आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । चलचित्रको वितरणको जिम्मा नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले लिएका छन् ।