निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भइरहेको नेपाली चलचित्र ‘क्याप्टेन साब’को छायांकन सम्पन्न भएको छ । दुई चरणमा गरिएको छायांकन बुधबार औपचारिक रूपमा इन्डक्ल्यापसँगै टुंगिएको हो ।
चलचित्रको पहिलो चरणको छायांकन गत वर्ष साउन १० गतेबाट सुरु गरिएको थियो भने दोस्रो चरण दुई साताअघि सुरु भएको थियो । चलचित्रका दृश्यहरू काभ्रे, काठमाडौं र वीरगञ्जका विभिन्न स्थानमा खिचिएका छन् ।
क्याप्टेन तथा व्यवसायी एवं सञ्चार उद्यमी रामेश्वर थापाको जीवनमा आधारित बायोपिकका रूपमा निर्माण भइरहेको यस चलचित्रको छायांकन कृष्णबहादुर थापाले गरेका छन् ।
पटकथा प्रोडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सन्जोग रसाइली प्रमुख भूमिकामा देखिनेछन् ।
चलचित्रको निर्माणमा निर्देशक दीपेन्द्र के खनालसँगै करण श्रेष्ठ निर्माता रहेका छन् भने सिर्जना नापित कार्यकारी निर्माताको भूमिकामा छिन् ।
चलचित्रको कथा तथा पटकथा स्वयं निर्देशक दीपेन्द्रले तयार पारेका हुन् । निर्माण टिममा सौगात बस्नेत मुख्य सहायक निर्देशक, सम्राट बस्नेत द्वन्द्व निर्देशक, एकी थेक्पा प्रोडक्सन डिजाइनर, रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा आबद्ध छन् ।