नेपाली चलचित्र ‘सिन्दुरे जात्रा’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । हाल छायांकनको क्रममा रहेको यो चलचित्र आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो ।
निर्देशक सरोज पौडेलका अनुसार वितरकसँगको परामर्शपछि सबै पक्षलाई उपयुक्त हुने समय छनोट गर्दै मंसिर ४ लाई प्रदर्शन मितिका रूपमा तय गरिएको हो । उनका अनुसार हतारमा चलचित्र रिलिज गर्नुको सट्टा पोस्टप्रोडक्सनका सबै कामलाई पर्याप्त समय दिएर उत्कृष्ट रूपमा दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्य राखिएको छ ।
सारंगी फिल्म्सको प्रस्तुति रहेको चलचित्रको छायांकन पर्वतको कुस्मा नगरपालिका–आर्थर डाँडाखर्कबाट सुरु भइसकेको छ । तर मुख्य अभिनेता विजय बरालको हात भाँचिएपछि छायांकन केही समयका लागि रोकिएको छ । निर्माण टिमले बाँकी दृश्यहरूको छायांकन असार १५ पछि पुनः सुरु गर्ने तयारी गरेको छ ।
यस चलचित्रमार्फत विजय बराल र अञ्जना बराइलीले निर्देशक सरोज पौडेलसँग दोस्रो पटक सहकार्य गरेका हुन् । यसअघि उनीहरू सरोजकै निर्देशनमा बनेको ‘पूर्णबहादुरको सारङ्गी’मा देखिएका थिए, जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाइ गर्ने चलचित्र बनेको थियो ।
‘सिन्दुरे जात्रा’मा विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने प्रमुख भूमिकामा छन् । उनीहरूसँगै कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, पूर्व मिस नेपाल उषा खड्गी लगायत कलाकारहरूको पनि अभिनय रहनेछ ।
चलचित्रको कथा निर्देशक सरोज पौडेल स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका छन् । दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा आकाश, सुमन रञ्जित र श्याम मगर सह–निर्माताका रूपमा आबद्ध छन् ।
बाबु श्रेष्ठको छायांकन, नहकुल खड्काको सम्पादन तथा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहेको चलचित्रको देशव्यापी वितरण आरआर फिल्म्सले गर्नेछ । यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।