नयाँ नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा गरिएको छ । लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहने चलचित्रको शुभारम्भ भक्तपुरस्थित सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गर्दै गरिएको हो ।
निर्माण टिमका अनुसार चलचित्रको छायांकन असार महिनाको अन्तिम सातादसुरु गर्ने तयारी गरिएको छ । चलचित्रमार्फत चर्चित लोकगायक पशुपति शर्माले पहिलो पटक अभिनयमा पाइला चाल्दैछन् । त्यस्तै, चर्चित गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्तले पनि यही चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गर्ने भएकी छन्।
निर्माण पक्षले चलचित्रमा यी दुईसँगै अन्य केही नयाँ तथा प्रतिभावान कलाकारहरूले पनि अभिनय यात्रा सुरु गर्ने जनाएको छ । यद्यपि, उनीहरूको नाम भने उपयुक्त समयमा सार्वजनिक गरिने बताइएको छ ।
रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र कमेडी कथावस्तुमा आधारित रहने छ । दर्शकलाई भरपुर मनोरञ्जन दिने उद्देश्यका साथ यस चलचित्रको निर्माण गर्न लागिएको निर्देशक अमरदीप सापकोटाले बताएका छन् । उनका अनुसार हाल चलचित्रको प्रि–प्रोडक्सनको काम तीव्र गतिमा अघि बढिरहेको छ।
निर्माता रघुनाथ सापकोटाले यसअघि घोषणा गरिएका केही चलचित्र प्राविधिक कारणले निर्माण हुन नसके पनि अहिले ‘तीन तीघ्रे क्या बिग्रे’लाई प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिए । साथै, ती अन्य परियोजनाहरू पनि क्रमशः निर्माण प्रक्रियामा लैजाने तयारी रहेको उनले बताए ।
चलचित्रको नेपाल प्रदर्शन अधिकार आरआर फिल्म्सले प्राप्त गरेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ । विदेश प्रदर्शनका लागि विभिन्न वितरकबाट चासो व्यक्त भए पनि निर्माण सम्पन्न भएपछि मात्र अन्तिम निर्णय गरिने निर्माण टिमले जनाएको छ ।