नेपालमा पहिलोपटक एनिमेसन चलचित्र महोत्सव आयोजना हुने भएको छ । नेपाल एनिमेसन र भि.एफ.एक्स कलाकार संघ (NAVAAN) ले चलचित्र विकास बोर्डको सहकार्यमा आगामी अक्टोबरमा ‘NAVAAN Animation Film Festival–2026’ आयोजना गर्ने घोषणा गरेको हो ।
चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा महोत्सवको औपचारिक घोषणा गरिएको हो । यस संस्करणको मुख्य विषय ‘मैले देखेको नेपाल’ (My Nepal, Reimagined) तय गरिएको आयोजकले जनाएको छ ।
संघका अध्यक्ष विक्रम मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी प्रमुख अतिथिका रूपमा सहभागी थिए । सोही अवसरमा उनले महोत्सवको आधिकारिक म्यास्कट ‘आफ्फे’ सार्वजनिक गरे ।
नेपालको राष्ट्रिय पक्षी डाँफेलाई आधार बनाएर तयार गरिएको ‘आफ्फे’को सिर्जनात्मक अवधारणामा विश्वप्रसिद्ध नेपाली कलाकार अरनिकोबाट प्रेरणा लिइएको जनाइएको छ । म्यास्कटले नेपाली कलाकारहरूको सिर्जनशीलता, कल्पनाशीलता र जीवन्त सांस्कृतिक पहिचानलाई प्रतिनिधित्व गर्ने विश्वास आयोजकको छ ।
महोत्सवअन्तर्गत एनिमेटेड लघु चलचित्र प्रदर्शन, कन्सेप्ट आर्ट च्यालेन्ज तथा विभिन्न एनिमेसन प्रतियोगिता आयोजना गरिनेछन् । साथै दुईदेखि १० मिनेटसम्मका एनिमेसन तथा भि.एफ.एक्समा आधारित लघु चलचित्रका लागि आवेदन खुला गरिएको छ । यसमा नेपालसहित विश्वभरका कलाकार, एनिमेटर, भि.एफ.एक्स विशेषज्ञ तथा चलचित्रकर्मीले सहभागिता जनाउन सक्नेछन् ।
कार्यक्रममा संघले एनिमेसन तथा भि.एफ.एक्स क्षेत्रमा रोजगारी खोज्ने कलाकार र दक्ष जनशक्ति आवश्यक भएका कम्पनी तथा स्टुडियोलाई जोड्ने उद्देश्यसहित ‘करिअरबोर्ड’ नामक अनलाइन पोर्टल सञ्चालनमा ल्याउने योजना पनि सार्वजनिक गरेको छ ।
त्यसैगरी, नेपालमै एनिमेसन विषयमा स्नातक तहको औपचारिक शैक्षिक कार्यक्रम सुरु गर्ने तयारी भइरहेको जानकारी दिइएको छ । यसका लागि एक प्रतिष्ठित विश्वविद्यालयसँग प्रारम्भिक चरणको छलफल अघि बढाइएको संघले जनाएको छ ।
संघले एनिमेसन, चलचित्र तथा भि.एफ.एक्स क्षेत्रमा आबद्ध कलाकार, प्राविधिक र विद्यार्थीको क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षण, कार्यशाला, प्रविधिमुखी अभिमुखीकरण तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय विज्ञसँगको सहकार्यमा विशेष सिकाइ कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ ।
कार्यक्रममा अन्तर्राष्ट्रिय चलचित्र र गेम स्टुडियोका विभिन्न परियोजनामा आबद्ध १२ नेपाली कलाकार तथा एनिमेटरको भिडियो प्रस्तुति पनि गरिएको थियो । उक्त प्रस्तुतिमार्फत विश्वव्यापी एनिमेसन, चलचित्र, गेमिङ तथा भि.एफ.एक्स उद्योगमा नेपाली प्रतिभाको बढ्दो योगदानलाई उजागर गरिएको आयोजकको भनाइ छ ।
घोषणा कार्यक्रममा नेपालका प्रथम एनिमेटर तथा संघका सल्लाहकार करुण थापा, वरिष्ठ २डी एनिमेटर कीर्ति केशर जोशी, कानुनी सल्लाहकार सहदेव खत्री, नेपाल चलचित्र निर्देशक समाजका सुभाष गजुरेल, रोबोटिक्स एसोसिएसन नेपालका ओमकार जैसवाल, प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयकी सुशीला कार्कीलगायत एक सयभन्दा बढी कलाकार, विद्यार्थी, चलचित्रकर्मी तथा उद्योगसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।