वरिष्ठ गायक, संगीतकार, गीतकार, कवि तथा पत्रकार रामप्रसाद खनालको नयाँ शिवभजन ‘प्रभुकै छ भर, तिमी बाहेक को छ र’ सार्वजनिक भएको छ । भक्तिभाव, आध्यात्मिक चेतना र भगवान पशुपतिनाथप्रतिको अटुट आस्थालाई केन्द्रमा राखेर तयार गरिएको भजनले जीवनका कठिन मोडमा ईश्वरप्रतिको विश्वासलाई भावपूर्ण रूपमा प्रस्तुत गरेको छ ।
भजनको शीर्षकमै परमात्माप्रतिको पूर्ण समर्पण र भरोसाको सन्देश समेटिएको छ । खनालका अनुसार धार्मिक तथा सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले भजन तयार गरिएको हो ।
चार दशकभन्दा बढी समयदेखि नेपाली लोक, दोहोरी, तीज, भजन तथा सांस्कृतिक संगीत क्षेत्रमा सक्रिय खनाल नेपाली संगीतका स्थापित स्रष्टामध्ये एक मानिन्छन् । उनी रेडियो नेपालका विशिष्ट श्रेणीका गायकसमेत हुन् । गायनसँगै गीत लेखन र संगीत सिर्जनामा सक्रिय उनले हालसम्म ५६ भन्दा बढी एल्बम सार्वजनिक गरिसकेका छन् । साथै गीत–संगीत र विविध विषयमा १८ पुस्तक प्रकाशित गरेका छन् भने करिब दुई हजार कविता तथा गजल पनि रचना गरेका छन् ।
भजनको अडियो तथा भिडियो इन्टरनेशनल मिडिया एन्ड इन्टरटेनमेन्ट हाउस यूएस र इन्टरनेशनल आर्टिस्ट्स फोरम यूएसएको ब्यानरमा निर्माण गरिएको हो । भिडियोको निर्देशन स्वयं रामप्रसाद खनालले गरेका छन् । छायांकन ताराकान्त विक र प्रदीप बोहोराले गरेका हुन् भने सम्पादनको जिम्मेवारी ताराकान्त विकले निर्वाह गरेका छन् ।
भिडियोमा रामप्रसाद खनालसँगै तीर्था पौडेल, कमल विक, प्रतिमा विक, प्रमेश घिमिरे, रमिला रसाइली, कल्पना विक, चन्द्र थापा किरण, सङ्गीता हर्मेल, खगेन्द्र बुढा मगर र लवकुश महतलगायत कलाकारहरूको अभिनय रहेको छ ।
भजन सार्वजनिक गर्दै खनालले विश्वभर रहेका नेपालीलाई धर्म, संस्कृति र परम्परासँग जोडिराख्न यस्ता भक्तिमूलक सिर्जनाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।