नेपाली हाँस्य तथा अभिनय क्षेत्रका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने भएको छ । राजधानी काठमाडौंमा आयोजित विशेष समारोहबीच चलचित्रको औपचारिक घोषणा गरिएको हो ।
चलचित्रको शुभारम्भ स्वयं मदनकृष्ण श्रेष्ठ र उनका दीर्घकालीन सहयात्री तथा वरिष्ठ कलाकार हरिवंश आचार्यले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा धिमे बाजासहित मदनकृष्णको विशेष स्वागत गरिएको थियो । सम्मानस्वरूप माला र खादा अर्पण गरिँदा उनी भावुक बनेका थिए भने हरिवंश आचार्यको साथमा बसेका मदनकृष्णले आँसु थाम्न सकेनन् ।
निर्देशक मिलन चाम्सको निर्देशनमा बन्ने यस चलचित्रले मदनकृष्ण श्रेष्ठको बाल्यकालदेखि कलाकारितासम्मको यात्रा, सरकारी सेवामा बिताएको समय, हरिवंश आचार्यसँगको ऐतिहासिक सहकार्य, अन्तरजातीय विवाह र जीवनका उतारचढावलाई समेट्नेछ ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् भने उनकी पत्नी यशोदाको भूमिकामा अभिनेत्री केकी अधिकारी देखिनेछिन् । यसबाहेक राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ ।
यद्यपि मदनकृष्णका जीवनभरका सहयात्री हरिवंश आचार्यको भूमिका कसले निर्वाह गर्ने भन्ने विषय भने अझै सार्वजनिक गरिएको छैन, जसले दर्शकमाझ थप उत्सुकता बढाएको छ ।
नेपाली चलचित्र इतिहासमा कुनै अभिनेताको जीवनमा आधारित बायोपिक बन्न लागेको यो पहिलो अवसर हो । यसअघि गायक भक्तराज आचार्यको जीवनमा आधारित ‘आचार्य’ निर्माण भए पनि अभिनेतामाथि केन्द्रित बायोपिक भने बनेको थिएन ।
कार्यक्रममा बोल्दै ७६ वर्षीय मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनकथा चलचित्रमार्फत दर्शकमाझ पुग्ने अवसर पाउँदा खुसी लागेको बताए । उनले आफ्नो सफल यात्रामा हरिवंश आचार्यको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै दर्शकले आफ्नो जीवनलाई अझ नजिकबाट बुझ्ने विश्वास व्यक्त गरे ।
हरिवंश आचार्यले पनि मदनकृष्णमाथि बायोपिक बन्नु गर्वको विषय भएको बताए। निर्देशक मिलन चाम्सलाई साहसी र ऊर्जाशील चलचित्रकर्मीको संज्ञा दिँदै उनले चलचित्रले कथामाथि पूर्ण न्याय गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मदनकृष्ण र हरिवंश नेपाली कला क्षेत्रका सम्मानित व्यक्तित्व भएको उल्लेख गर्दै बायोपिक निर्माण आफैंमा चुनौतीपूर्ण कार्य रहेको बताए । कलाकारसँगै मेकअप टोलीले समेत ठूलो मेहनत गर्नुपर्ने उनको भनाइ थियो ।
भिन्टेज मोसन पिक्चर्सको प्रस्तुति रहने ‘मदनकृष्ण’का निर्माता राजकुमार श्रेष्ठ हुन् । चलचित्रको कथा तथा पटकथा यम थापाले तयार पारेका छन् । छायांकन निर्देशक (डीओपी) बाबु श्रेष्ठ, सम्पादक मिलन श्रेष्ठ, ब्याकग्राउन्ड म्युजिकमा अलिश कार्की र साउन्ड डिजाइनमा भरत कँडेल रहनेछन् ।
भदौको दोस्रो सातादेखि छायांकन सुरु गर्ने तयारी गरिएको चलचित्र रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी कम्पनीले वितरण गर्नेछन् भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहनेछ ।