निर्देशक डा. कपिल रिजालको चलचित्र ‘गौँथली’ आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्रमा पहिलोपटक अभिनेता अरुण क्षेत्री र अभिनेत्री सिम्रन खड्का श्रीमान्–श्रीमतीको भूमिकामा अनस्क्रिन जोडीका रूपमा प्रस्तुत भएका छन् ।
चलचित्रको टिजर र हालै सार्वजनिक गरिएको स्याड सङ ‘आँखा भरी आँसु’ ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ । थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको गीतमा संगीत थानेश्वर गौतम तथा शब्द डा. भोला रिजालका हुन् । गीत सार्वजनिक कार्यक्रममा अरुण र सिम्रन बेहुला–बेहुलीको वेशमा उपस्थित भएर सबैलाई सरप्राइज दिएका थिए ।
निर्देशक कपिल रिजालका अनुसार चलचित्रको विषयवस्तु, कलाकारहरूको अभिनय तथा शारीरिक समस्याले मानिसको जीवनमा पार्ने प्रभावलाई दर्शकले मन पराइरहेका छन् । ‘गौँथली’ले घर, परिवार र आपसी आत्मीयताको कथा प्रस्तुत गर्ने जनाइएको छ ।
डा. भोला रिजालको कथामा बनेको चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीसहितका कलाकारको अभिनय रहेको छ । चलचित्रमा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत, हरि हुमागाईंको छायांकन तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन् । उल्लेखनीय रूपमा, दुई दशकअघि डा। भोला रिजालले निर्माण गरेको ‘गौँथली’ नेपालको पहिलो गीति चलचित्रका रूपमा चिनिएको थियो भने अहिले सोही नाममा उनका छोरा डा. कपिल रिजालले नयाँ पुस्ताका लागि चलचित्र निर्देशन गरेका हुन् ।