चलचित्र ‘कार्की साइँला’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ । अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र अब आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको हो ।
निर्माण टिमले बुधबार नयाँ आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । यसअघि साउन १ गते प्रदर्शन गर्ने तयारी भए पनि वितरकसँगको आपसी छलफलपछि प्रदर्शन असोज २ गतेका लागि सारिएको जनाइएको छ ।
सार्वजनिक पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी) रोमान्टिक अवतारमा देखिएका छन् । पोस्टरले चलचित्रमा प्रेमकथाको झल्को दिए पनि यसको मुख्य कथा भने ‘कार्की साइँला’ नामका एक भरियाको जीवन र संघर्षमा केन्द्रित रहेको बताइएको छ । चलचित्रको छायाङ्कन धनकुटा, बराहक्षेत्र र चतरा लगायत पूर्वी नेपालका विभिन्न रमणीय स्थानमा गरिएको छ ।
राजेन्द्र बस्नेत निर्देशित चलचित्रमा जितु नेपाल, प्रियना आचार्य, सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ ।
कर्णबहादुर फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता र अनन्त राई कार्यकारी निर्माता रहेका छन् । सबिन अधिकारी र शङ्कर धितालको लेखन रहेको चलचित्रमा डम्बर राईको छायाङ्कन, किरण दाहालको द्वन्द्व निर्देशन, दिप्सन लिम्बुको संगीत तथा सिबी भण्डारीको प्रोडक्सन व्यवस्थापन रहेको छ ।
चलचित्रलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्समार्फत गोविन्द शाहीले तथा उपत्यकाबाहिर कुबेर फिल्म्सले वितरण गर्नेछन् ।