द भ्वाइस अफ नेपाल सिजन–४ का विजेता गायक करण राईले नयाँ सिर्जना ‘मैनाम’ अ पोइटिक म्युजिक फिल्म सार्वजनिक गरेका छन् । लामो समयपछि उनले फरक शैलीको प्रस्तुति लिएर दर्शकमाझ आएका हुन् ।
करण राईको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘मैनाम’ मा अमर श्रेष्ठ र वरिष्ठ गायक तथा संगीतकार गणेश रसिकको संगीत रहेको छ । कवि उत्तम तुम्सा लिम्बुको कवितामा आधारित यस कृतिमा करण राईको स्वर सुन्न सकिन्छ भने उत्तम स्वयंले कविता वाचन गरेका छन् ।
देबेश राईले एरेञ्ज, मिक्सिङ तथा मास्टरिङ गरेको उक्त पोइटिक म्युजिक फिल्म रङ्काशु स्टुडियोमा रेकर्ड गरिएको हो। यसको सार्वजनिक समारोह ललितपुरमा आयोजना गरिएको थियो, जहाँ कवि, लेखक तथा निर्देशक उपेन्द्र सुब्बा, कवि स्वप्निल स्मृति र लेखक श्याम सिंगकको उपस्थिति रहेको थियो ।
कृति अवलोकनपछि उपेन्द्र सुब्बाले अमर श्रेष्ठ र गणेश रसिकलाई स्मरण गर्दै संगीत तथा करण र उत्तमको प्रस्तुतिको प्रशंसा गरे । त्यस्तै, स्वप्निल स्मृति र श्याम सिंगकले पनि ‘मैनाम’ को कलात्मक पक्षको खुलेर सराहना गरेका थिए ।
कवि उत्तम तुम्सा लिम्बुकै लेखन तथा निर्देशनमा तयार भएको ‘मैनाम’ मा करण राईले अभिनयसमेत गरेका छन्। उनको साथमा सृष्टि मगरको अभिनय रहेको छ । करण र सृष्टिको जोडीलाई भिडियोमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ ।
डिएनएक्स हाङ्ग्गामको सिनेमाटोग्राफी रहेको भिडियोलाई विवेक सुनारले सम्पादन गरेका छन् भने मिलन विश्वकर्माले कलर संयोजन गरेका छन् । सह(निर्देशनको जिम्मेवारी पवित्रा राईले सम्हालेकी छन् ।