नेपमली चलचित्र ‘भागदौड’को नयाँ गीत ‘पातली’ सार्वजनिक गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको प्रचारलाई तीव्र बनाउँदै प्रेमभाव झल्काउने गीत दर्शकमाझ ल्याएको हो ।
सार्वजनिक गीतमा प्रह्लाद तिमिल्सेना र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ भने गीतका शब्द तथा सङ्गीत वसन्त सापकोटाले तयार गरेका हुन् । प्रेमकथामा आधारित गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार निशा श्रेष्ठ र घनश्याम जोशीको अभिनय प्रस्तुत गरिएको छ ।
पहमाल उप्रेती निर्देशित ‘भागदौड’ले वैदेशिक रोजगारी, फाइनान्स तथा सहकारी ठगीजस्ता समसामयिक विषयसँगै मानिसको जीवनमा आउने विभिन्न उतारचढावलाई कथावस्तु बनाएको छ । निर्देशक उप्रेतीका अनुसार चलचित्रमा प्रेम, प्रतिशोध र जीवनको निरन्तर संघर्षलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।
फिल्ममा निशा श्रेष्ठ र घनश्याम जोशीसँगै शारदा राई (डायना), विशाल पोखरेल, शिशिर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शङ्कर महर्जन तथा सुवास तिमिल्सिना लगायत कलाकारहरूको अभिनय रहेको छ ।
विश्वराम विष्ट प्रस्तुतकर्ता रहेको चलचित्रमा अंगिरा थापा कार्यकारी निर्माता छन् । भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी सह–निर्माताका रूपमा आबद्ध छन् ।
सुप्रिम म्युजिक एन्ड फिल्म्स प्रालि र नेशनल सिने ग्रुप नेपालको प्रस्तुतिमा बनेको ‘भागदौड’को छायाङ्कन मुख्यतः काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बुङ्गमती क्षेत्र र बागमती नदी आसपासका स्थानमा गरिएको छ । चलचित्रले बुङ्गमतीको प्राचीन सभ्यता, नेवारी कला–संस्कृति, विभिन्न समुदायबीचको सहअस्तित्व तथा परम्परागत र आधुनिक जीवनशैलीबीचको सन्तुलनलाई चित्रण गर्ने प्रयास गरेको निर्माण पक्षको भनाइ छ ।
चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन, प्रवीण ढकालको सम्पादन तथा वसन्त सापकोटा र प्रकाश नेपालीको सङ्गीत रहेको छ । यस चलचित्र आगामी जुलाई १० (असार २६) देखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ ।