म्युजिक खबर म्युजिक अवार्डको १३औं संस्करणअन्तर्गत प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारहरूको घोषणा गरिएको छ । आगामी असार १४ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंक्वेट एण्ड इभेन्टमा आयोजना हुने समारोहमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०८२’ प्रदान गरिने भएको छ ।
अवार्ड आयोजक समितिकी संयोजक सबिता पोखरेलका अनुसार नेपाली संगीत क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि निरन्तर योगदान दिँदै आएका बास्कोटालाई नगद ५१ हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित सम्मानित गरिनेछ। ‘रातो रानी फुलेझैं साँझमा’, ‘मायाले बाँध तिमी मलाई’, ‘पूर्णिमाको रात पनि’ र ‘चट्ट रुमाल क्या मालुम’ लगायतका लोकप्रिय गीतमा उनको संगीत रहेको छ। संगीत सिर्जनासँगै चलचित्र विकास बोर्ड, नेपाल टेलिभिजन तथा विभिन्न सांस्कृतिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै उनले नीतिगत क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिएका छन् ।
समारोहमा गीतकार उन्नति बोहरा ‘शीला’ लाई ‘म्युजिक खबर शब्द शीला विशिष्ट सम्मान’ प्रदान गरिनेछ। ‘फर्की आउ शान्ति तिमी’जस्ता चर्चित गीतकी सर्जक शीलाले आधुनिक गीत, चलचित्र तथा साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकी छन् ।
त्यसैगरी तीन दशकभन्दा बढी समयदेखि गीत लेखनमा सक्रिय विजय शिवाकोटीलाई ‘म्युजिक खबर रजत संगीत सम्मान–२०८२’ प्रदान गरिने भएको छ । ‘मेरो गीत मन पराउँछ्यौ’, ‘बिहानी शीत बनी’ र ‘भिझाएर आँशु’जस्ता चर्चित गीतका रचनाकार शिवाकोटीले नेपाली सुगम संगीतमा विशिष्ट योगदान दिएका छन् ।
यस वर्षको ‘म्युजिक खबर दशकको संगीत सम्मान’ गायक शिव परियार र लोकगायिका कालिका रोकालाई अर्पण गरिनेछ। आधुनिक, गजल तथा चलचित्र गायनमा सक्रिय परियारका ‘पिउँदिन भन्दा भन्दै’ र ‘आँशुको अर्थ के थाहा’जस्ता गीत लोकप्रिय छन् । त्यस्तै, लोकदोहोरी गायनमा लामो समयदेखि सक्रिय रोकाका ‘निरमसी’, ‘मुग्लिन पुल तरी’ र ‘देउरालीमा धजा’ लगायतका गीत चर्चित छन् ।
गीतकार सुशिला पौडेल र पुरुषोत्तम सानुलाई पनि ‘दशकको संगीत सम्मान’ प्रदान गरिने भएको छ । गीत, गजल तथा साहित्य सिर्जनामा सक्रिय पौडेलका दर्जनौं गीत लोकप्रिय बनेका छन् भने सानुले गीत लेखनसँगै सगरमाथा आरोहण गरेर पनि परिचय बनाएका छन् । उनका सिर्जनामा देशप्रेम र मानवीय संवेदनाको प्रस्तुति पाइन्छ ।
संगीत पत्रकारितामा योगदान पुर्याएबापत पत्रकार कुबेर गिरी र गोपीकृष्ण चापागाईंलाई ‘म्युजिक खबर संगीत पत्रकारिता सम्मान’ प्रदान गरिनेछ। दुवैले लामो समयदेखि कला, चलचित्र र संगीत पत्रकारितामा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
अमेरिकामा रहेर नेपाली गीत–संगीतको प्रवर्द्धन गरिरहेकी गीतकार पुष्पा खनाललाई ‘म्युजिक खबर डायस्पोरा संगीत सम्मान–२०८२’ प्रदान गरिने भएको छ । दुई सयभन्दा बढी गीत रचना गरिसकेकी खनालका ‘माया केवल माया’, ‘यो आँखाको पानी’ र ‘जिउनै पर्छ’ लगायतका गीत चर्चित छन् ।
बाल प्रतिभाको रूपमा १० वर्षीय युनिश घिमिरेलाई ‘म्युजिक खबर बालप्रतिभा सम्मान–२०८२’ प्रदान गरिनेछ । उनले विभिन्न म्युजिक भिडियोमार्फत अभिनय र नृत्य प्रतिभा प्रस्तुत गर्दै आएका छन् ।
यसैगरी चिकित्सक तथा गायक–संगीतकार डा. रणजित झालाई ‘म्युजिक खबर संगीतकर्मी सम्मान–२०८२’ र सञ्चार तथा सिर्जनात्मक क्षेत्रमा सक्रिय उदयराज शर्मालाई ‘म्युजिक खबर सञ्चारकर्मी सम्मान–२०८२’ प्रदान गरिने आयोजकले जनाएको छ ।
नेपाली गीत–संगीत, साहित्य, पत्रकारिता तथा सांस्कृतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्दै म्युजिक खबर म्युजिक अवार्डको १३औँ संस्करण भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको आयोजक पक्षले जनाएको छ ।