विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधाअन्तर्गत ‘जुरी प्राइज’ जित्न सफल नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)को प्रदर्शन मिति तय गरिएको छ । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले फिल्म आगामी भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने घोषणा गरेको हो । उक्त दिन श्रीकृष्ण जन्माष्टमीको सार्वजनिक बिदा समेत परेकाले फिल्मले विशेष अवसरमा दर्शकमाझ पुग्ने भएको छ ।
निर्माताका अनुसार फिल्मलाई सन् २०२७ मा आयोजना हुने प्रतिष्ठित ‘द एकेडेमी अफ मोसन पिक्चर अवार्ड’ (ओस्कार)का लागि नेपालको प्रतिनिधिका रूपमा पठाउने लक्ष्यसहित भदौमा रिलिज गर्न लागिएको हो । ओस्कारमा प्रतिस्पर्धाका लागि आवेदन दिन फिल्म कम्तीमा सात दिनसम्म व्यावसायिक रूपमा प्रदर्शन भएको हुनुपर्ने प्रावधान रहेकाले प्रदर्शन मिति सोहीअनुसार तय गरिएको जनाइएको छ ।
‘एलिफेन्ट्स इन द फग’ कान्स फिल्म फेस्टिभलमा ‘जुरी प्राइज’ जित्ने पहिलो नेपाली फिल्म बनेर इतिहास रचिसकेको छ । यस उपलब्धिलाई नेपाली चलचित्र उद्योगका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । पुरस्कार जितेपछि चलचित्र विकास बोर्डमार्फत नेपाल सरकारले निर्माण टिमलाई साढे दुई लाख रुपैयाँ नगदसहित सम्मान गरेको थियो भने हालै काठमाडौं महानगरपालिकाले पनि १० लाख रुपैयाँ प्रदान गरेको थियो ।
अविनास विक्रम शाहको लेखन तथा निर्देशनमा तयार भएको फिल्मले जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको संवेदनशील कथा प्रस्तुत गरेको छ। फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
कान्समा प्रिमियर प्रदर्शनपछि फिल्मले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा बटुलेको थियो। चर्चित भारतीय निर्देशक तथा अभिनेता अनुराग कश्यपले सामाजिक सञ्जाल लेटरबक्स्डमा प्रतिक्रिया दिँदै ‘एलिफेन्ट्स इन द फग’ को अन्तिम दृश्यलाई आफूले कान्समा हेरेका उत्कृष्ट दृश्यहरूमध्ये एक भएको उल्लेख गरेका थिए । उनले यस फिल्मले नेपाली सिनेमालाई नयाँ उचाइमा पुर्याएको समेत बताएका थिए ।