चलचित्र विकास शुल्क संकलन प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र अभिलेखीकरणमुखी बनाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले सर्लाहीको लालबन्दीमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीबार आयोजित कार्यक्रममा सर्लाही, धनुषा, महोत्तरी, बारा, पर्सा र मकवानपुर जिल्लाका चलचित्रघरका प्रतिनिधिहरूको सहभागिता रहेको बोर्डले जनाएको छ । मधेस प्रदेश तथा बागमती प्रदेशअन्तर्गत हेटौँडा क्षेत्रका गरी २३ जना प्रतिनिधिले तालिममा सहभागिता जनाएका थिए ।
कार्यक्रमका क्रममा चलचित्र विकास शुल्कसम्बन्धी प्रचलित कानुनी व्यवस्था, शुल्क कार्यान्वयनको अवस्था, नियमन प्रणाली तथा चलचित्र विकास शुल्क पोर्टलको सैद्धान्तिक र व्यवहारिक प्रयोगबारे सहभागीहरूलाई जानकारी गराइएको थियो ।
यस्तै, पोर्टलमार्फत शुल्क विवरणको व्यवस्थित अभिलेखीकरण, प्रभावकारी अनुगमन तथा रिपोर्टिङ प्रणालीको विकास र चलचित्रघरलाई प्रविधिमैत्री बनाउने विषयमा समेत अभिमुखीकरण गरिएको बोर्डले उल्लेख गरेको छ ।
यसअघि कर्णाली, कोशी, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका विभिन्न क्षेत्रमा पनि यस्तै तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको बोर्डले जनाएको छ ।
चलचित्र विकास बोर्डले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा चालु वर्षलाई ‘दक्षता अभिवृद्धि वर्ष’का रूपमा मनाउँदै चलचित्र क्षेत्रसँग सम्बन्धित तालिम, अभिमुखीकरण तथा क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । बोर्डका अनुसार चलचित्र क्षेत्रको संस्थागत विकास, नियमन प्रणालीलाई थप सुदृढ बनाउने तथा सरोकारवालाको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम सञ्चालन भइरहेका छन् ।