निर्देशक राजु शाहको फिल्म ‘जाँड’ आज (असार १२ गते, शुक्रबार)देखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । सामाजिक यथार्थमा आधारित यस फिल्मले मद्यपानका कारण परिवार र समाजमा देखिने विकृति तथा परम्परागत कुसंस्कारविरुद्ध सशक्त सन्देश दिने उद्देश्य राखेको निर्माण पक्षले जनाएको छ ।
फिल्मले अत्यधिक मद्यपानले परिवारमा निम्त्याउने तनाव, कलह र सम्बन्धमा आउने दरारलाई मुख्य विषयवस्तु बनाएको छ । यसअघि सार्वजनिक ट्रेलरमा मदिराको लतमा फसेको व्यक्तिको व्यवहारले पत्नी, छोरी र समग्र परिवारमा पार्ने असरलाई यथार्थपरक रूपमा चित्रण गरिएको थियो ।
राजेन्द्र भट्टको निर्माण रहेको यस फिल्ममा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना र स्मारिका खनाललगायत कलाकारहरूको अभिनय रहेको छ ।
सुकुल ढोका मिडिया प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्मको कथा, पटकथा र संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्त रूपमा तयार पारेका हुन् । फिल्मका निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह रहेका छन् ।
फिल्मको मुख्य सहायक निर्देशक शम्भु गौतम र किशोर डंगोल हुन् भने सह–निर्देशकको जिम्मेवारी नरेन्द्रकुमार केसीले सम्हालेका छन् । दिपेन बस्न्यातको छायांकन तथा सम्पादन रहेको फिल्ममा योगेन्द्र श्रेष्ठको द्वन्द्व निर्देशन छ । निर्माण नियन्त्रक सुनिलप्रसाद श्रेष्ठ रहेका छन् भने श्रीपुरुष ढकालका शब्द, रोशन बालुवाको संगीत तथा स्वर फिल्ममा समावेश गरिएको छ ।