जीवन सिंहको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘हन्टर’ आगामी असोज ९ गते (सेप्टेम्बर २५) देखि देशभरका सिनेमाघरमा प्रदर्शन हुने भएको छ । निर्माण टिमले प्रभावशाली फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो ।
‘हन्टर’मार्फत जीवन सिंहले पहिलो पटक निर्देशनमा डेब्यु गरेका हुन् । सार्वजनिक पोस्टरले चलचित्रको कथा, पात्र र द्वन्द्वबारे रोचक संकेत दिएको छ । ट्राइडेन्ट कन्सेप्टले डिजाइन गरेको पोस्टरमा मुख्य कलाकार अरुण क्षेत्री र प्रकाश शाहलाई आमनेसामने प्रस्तुत गरिएको छ । प्रकाश शाहको आँखामा देखिएको आक्रोश र अरुण क्षेत्रीको अनुहारमा झल्किएको प्रतिशोधको भावले उनीहरूबीचको सशक्त संघर्षलाई चित्रण गरेको छ ।
पोस्टरले सामान्य विवादभन्दा पर ‘हन्टर’ र ‘सिकार’बीचको घातक खेललाई संकेत गरेको देखिन्छ । यद्यपि, पोस्टरको तल्लो भागमा भने अरुण क्षेत्री र अभिनेत्री सुप्रज्ञा शर्मालाई शान्त र रोमान्टिक परिवेशमा देखाइएको छ, जसले चलचित्रमा दमदार एक्सनसँगै गहिरो प्रेमकथा पनि समेटिएको आभास गराउँछ ।
निर्देशक जीवन सिंहका अनुसार ‘हन्टर’को कथा काल्पनिक नभई समाजमा रहेका वास्तविक पात्र र घटनाबाट प्रेरित भएर तयार गरिएको हो । ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा निर्माण भएको चलचित्रका निर्माता ममता सिंह, गोविन्द राज र राज ए . भट्ट हुन् । सह(निर्मातामा मनिष चन्द, युना शाही र सन्तोष आस्ना पाल रहेका छन् भने रोयल भीमसेन (भीमसेन शाही) कार्यकारी निर्माता हुन् ।
चलचित्रमा अरुण क्षेत्री, प्रकाश शाह र सुप्रज्ञा शर्मासँगै गरिमा शर्मा, सरोज खनाल, रमेश बुढाथोकी, रुजा राउत, रोशनी दाहाल, गीता अधिकारी, सुरज भण्डारी, टेकराज शर्मा र लालबहादुर थापालगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको सम्पादन निर्देशक जीवन सिंह स्वयंले गरेका छन् । कृष्ण थापा डीओपी, शुक्रराज शाह द्वन्द्व निर्देशक, विक्रम स्वाँर र सञ्जय खिमजिम कोरियोग्राफर तथा बाबुल गिरी, चक्र बम र महेश ताम्राकार संगीतकार रहेका छन् ।
दसैंको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको ‘हन्टर’ले एक्सन, इमोसन र ड्रामाको सशक्त मिश्रणमार्फत दर्शकलाई आकर्षित गर्ने निर्माण पक्षको विश्वास छ । पोस्टर सार्वजनिक भएसँगै चलचित्रले सकारात्मक चर्चा बटुल्न थालेको छ ।
चलचित्रको देशव्यापी वितरण आरआर फिल्म्समार्फत रोहित कट्टेल र रत्न श्रेष्ठले गर्ने भएका छन् ।