नेपाली फिल्म ‘अक्षरा’को पहिलो लुक्स सार्वजनिक गरिएको छ । निर्माण टिमले प्रचार अभियानको सुरुवात गर्दै सार्वजनिक गरेको पोस्टरमा मुख्य अभिनेत्री न्यान्सी खड्कालाई केन्द्रमा राखिएको छ, जसले फिल्मको कथावस्तुप्रति दर्शकमाझ उत्सुकता बढाएको छ ।
सार्वजनिक पोस्टरमा न्यान्सीलाई रुखमुनिको ढुङ्गे चौतारोमा एक्लै बसेको, गम्भीर र भावुक मुद्रामा देखाइएको छ । पोस्टरको पृष्ठभूमिमा रहेका सुकेका र पातविहीन रुखहरूले जीवनका संघर्ष, शून्यता र पीडाको संकेत गरेका छन् ।
सोनी थापा (ढुंगाना)को प्रस्तुति रहेको फिल्म क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको हो । उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना संयुक्त निर्माता रहेको फिल्मको कथा उग्रसेन स्वयंले लेखेका हुन् । पटकथा तथा संवादमा निर्देशक पौडेलसँग लेखक अभिमन्यु निरवीले सहकार्य गरेका छन्। कार्यकारी निर्मातामा सुरज थापा काजी र सुमन ज्योति न्यौपाने रहेका छन् ।
विनय राज पौडेलको निर्देशनमा बनेको ‘अक्षरा’मा न्यान्सीसँगै सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम केसी, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, बिरेन्द्र कुशवाहा, सुमन ज्योति न्यौपाने (ल्याङ्ग्री दादा), निशा पन्थी, सृजना अधिकारी, मोहन अधिकारी, त्रिलोचन न्यौपाने, प्रदीप धुलुङ, विश्वनाथ तामाङ, रबिन्द्र अधिकारी, प्रजल दुलाल र निशा कुइकेलको अभिनय रहेको छ। बालकलाकार रोनक खड्का र प्रीसा ढुंगाना पनि फिल्ममा देखिनेछन् ।
फिल्ममा कर्णराज गिरीको संगीत, सुरेन्द्र रानाका गीत, रामजी लामिछानेको कोरियोग्राफी, शंकर महर्जनको द्वन्द्व निर्देशन, दिपेन बस्न्यातको छायांकन र गौतम राज खड्काको सम्पादन रहेको छ । निर्माण व्यवस्थापन सुमन काफ्ले र त्रिलोचन न्यौपानेले गरेका छन् भने मुख्य सहायक निर्देशक दिवस विक्रम बोहरा तथा सहायक निर्देशक मनोज बोहोरा र सौरभ शाह रहेका छन् । राकेश दाहालले पोस्टर डिजाइन गरेको फिल्मलाई नेशनल सिने ग्रुप नेपाल प्रालिमार्फत दीपक दंगालले देशव्यापी वितरण गर्नेछन् । यस फिल्म आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।