प्रदीपकुमार चौधरी ‘पिके डन’ले निर्देशन गरेको पहिलो चलचित्र ‘तरङ्ग’ आगामी मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले शुक्रबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
देवदत क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्रको वितरण श्रीराम बालाजी फिल्ममार्फत सुनिल मानन्धरले गर्नेछन् । सार्वजनिक पोस्टरमा वरुण अधिकारी, रविना केसी, बारात लिम्बु र कृष्ण थापालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ ।
चलचित्रमा सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग तथा बाल कलाकार प्रन्शु चौधरीसहितका कलाकारहरूको अभिनय रहेको छ ।
तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माताका रूपमा रहेका चलचित्रका कार्यकारी निर्माता हरिनारायण चौधरी हुन् । महेश पौडेलको छायांकन रहेको चलचित्रमा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको एक्सन निर्देशन तथा मनोज थापामगर, पवन गिरी र मनोज महतोको संगीत समावेश गरिएको छ ।
मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीका विभिन्न स्थानमा छायांकन गरिएको ‘तरङ्ग’लाई सुपरनेचुरल लभस्टोरी अर्थात् अलौकिक प्रेमकथामा आधारित चलचित्रका रूपमा निर्माण गरिएको निर्देशक प्रदीपकुमार चौधरीले बताएका छन् । चलचित्र निर्माणमा देवदत क्रियशनसँग एवी फिल्मीले सहकार्य गरेको छ ।