नेपाली चलचित्र ‘लज्जावती’ का पाँच क्यारेक्टर पोस्टर सार्वजनिक गरिएका छन् । निर्माण टिमले शुक्रबार एकैसाथ पोस्टर सार्वजनिक गर्दै सिनेमाका मुख्य पात्रहरूको परिचय गराएको हो ।
सार्वजनिक पोस्टरहरूले सिनेमाका प्रमुख कलाकारलाई फरक–फरक अवतारमा प्रस्तुत गरेका छन् । पोस्टरमार्फत पात्रहरूको प्रेम, पारिवारिक सम्बन्ध, संघर्ष र ग्रामीण परिवेशलाई उजागर गर्ने प्रयास गरिएको देखिन्छ ।
निर्माण टिमका अनुसार पोस्टरमार्फत प्रेम, परिवार, सम्बन्ध र सामाजिक यथार्थलाई समेट्ने सिनेमाको मूल भाव प्रस्तुत गर्ने प्रयास गरिएको छ । सिनेमाले प्रेमकथासँगै समाजका विविध आयामलाई पनि उठान गर्ने बताइएको छ ।
आहा फिल्म्स प्रालिको प्रस्तुतिमा बनेको ‘लज्जावती’का लेखक तथा निर्देशक राजबहादुर साने हुन् । सिनेमामा मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी, धिरेन शाक्य, हिउँवाला गौतम, दीपक थापा, विनोद श्रेष्ठलगायत कलाकारहरूको अभिनय रहेको छ ।
सौरभ वली प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया हुन् भने दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । दिव्यराज सुवेदीको छायांकन रहेको सिनेमालाई कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ । तारा थापा ‘किम्भे’ सम्पादक तथा देव महर्जन द्वन्द्व निर्देशक रहेका छन् । यस चलचित्र आगामी साउन २९ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ ।