निर्देशक एभरेष्ट सूर्य बोहराको आगामी फिल्म ‘चमेलीको पोइ’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आगामी असोज १६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको शुक्रबार सार्वजनिक गरिएको पोस्टरमा हास्य कलाकार नारायण त्रिपाठीलाई निकै फरक शैलीमा प्रस्तुत गरिएको छ ।
‘प्रेम चरो’ उपनामबाट परिचित त्रिपाठी लामो समयपछि यही फिल्ममार्फत नेपाली रजतपटमा फर्किएका हुन् । करिब डेढ दशकअघि नेपाली फिल्ममा व्यस्त रहेका उनी अमेरिका गएपछि अभिनयबाट टाढिएका थिए ।
सार्वजनिक पोस्टरमा त्रिपाठी अर्धनग्न अवस्थामा देखिएका छन् । उनको अनुहारमा कुटपिटका चोटका दाग स्पष्ट देखिन्छन् भने च्यातिएको कपडा र भागिरहेको अवस्थाले उनको पात्र कुनै कठिन परिस्थितिबाट गुज्रिएको संकेत गर्छ ।
पोस्टरमा सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रामनारायण उपाध्याय, सुदीप कुँवर र उमेश राईलाई पनि समावेश गरिएको छ। फिल्ममा प्रेमदेव गिरी, रवीन्द्र झा, अंशु महर्जन, खड्कबहादुर पुन ९खबपु०, रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आरएल शाह र रितु मल्ल ठकुरीलगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।
फिल्मको कथा निर्देशक एभरेष्ट सूर्य बोहराले नै लेखेका हुन् भने पटकथा र संवादमा शिवम अधिकारीले साथ दिएका छन् । धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा हुन्। उदय विक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य कार्यकारी निर्माता रहेका छन् भने धनकुमारी श्रेष्ठ लाइन प्रोड्युसर हुन् ।
सुदीप कुँवर, सुमित्रा थापा, नारायण त्रिपाठी, यमप्रसाद ओली र प्रदीपकुमार सापकोटा सह–निर्माताका रूपमा रहेका फिल्मको छायांकन मुस्ताङ, पोखरा र काठमाडौंमा गरिएको हो। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।