नेपाली चलचित्र ‘पार्वती’ ले आफ्नो चर्चित गीत ‘नौतुना रेलैमा’ मा टिकटक भिडियो बनाउने दर्शकका लागि आकर्षक पुरस्कारसहितको प्रतियोगिता सार्वजनिक गरेको छ ।
प्रतियोगिताअन्तर्गत सहभागीहरूले ‘नौतुना रेलैमा’ गीतमा सिर्जनात्मक टिकटक भिडियो तयार गरी आफ्नो खाताबाट पोस्ट गर्नुपर्नेछ । उत्कृष्ट भिडियो बनाउने तीन जनालाई क्रमशः प्रथम पुरस्कार ५० हजार रुपैयाँ, दोस्रो पुरस्कार ३० हजार रुपैयाँ र तेस्रो पुरस्कार २० हजार रुपैयाँ प्रदान गरिने निर्माण पक्षले जनाएको छ । यसबाहेक पाँच जना सहभागीलाई चलचित्र हेर्न निःशुल्क टिकट पनि उपलब्ध गराइनेछ ।
प्रतियोगितामा सहभागी हुन भिडियो पोस्ट गर्दा क्याप्सनमा ह्यासट्याग पार्वती ह्यासट्याग भाद्र१२ ह्यासट्याग नौतुना रेलैमा अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ । विजेता छनोट भिडियोको सिर्जनात्मकता र प्राप्त भ्युजका आधारमा गरिने जानकारी दिइएको छ ।
हालै सार्वजनिक गरिएको गीतको भिडियोमा चलचित्रका प्रमुख कलाकार नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठ को आकर्षक नृत्य प्रस्तुत गरिएको छ । विवाहको अवसरमा महिलाहरूले खेल्ने रत्यौलीलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको भिडियोमा दीपाश्री पुरुषको भेषमा देखिएकी छन् भने नीता महिलाकै पहिरनमा देखिएकी छन् ।
अभिनेत्री नीता ढुङ्गाना को कथा तथा निर्देशनमा निर्माण भएको चलचित्रमा उनी स्वयं मुख्य भूमिकामा छिन् । साथै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको कथा र पटकथा निर्देशक ढुङ्गानाले तयार पारेकी हुन् भने स्क्रिप्ट शिवम् अधिकारी ले लेखेका छन् । सुदीप बराल डीओपी रहेको चलचित्रमा रामजी लामिछाने ले नृत्य निर्देशन गरेका छन् ।
शंकर पाण्डे प्रोडक्सन म्यानेजर तथा कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता हरिहर अधिकारी हुन् । सम्पादन तथा टिजर–ट्रेलर निर्माणको जिम्मेवारी साहिल खानले सम्हालेका छन् भने पोस्टर डिजाइन रोयल भीमसेन ले गरेका हुन् । चलचित्रको वितरण एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्ट ले गर्नेछन् । डिजिटल अधिकार ओएसआर ले खरिद गरिसकेको छ ।
चलचित्र ‘पार्वती’ आगामी भदौ १२ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउनेछ ।