माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’को फर्स्ट लुक सार्वजनिक गरिएको छ । निर्माण टिमले आगामी भदौ २६ गते प्रदर्शनमा आउने चलचित्रका तीन फरक शैलीका पोस्टर सार्वजनिक गर्दै औपचारिक प्रचार अभियान सुरु गरेको हो ।
सार्वजनिक गरिएका पोस्टरहरूले चलचित्रको कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, संघर्ष र ग्रामीण परिवेशलाई कलात्मक रूपमा प्रस्तुत गरेका छन् । पहिलो पोस्टरमा दयाहाङ राई र गौमाया गुरुङ गाउँको परिवेशमा देखिएका छन् । गौमायाको काखमा रहेको पाठो र दयाहाङको भावपूर्ण अभिव्यक्तिले ग्रामीण जीवनको सरलता, आत्मीयता र मानवीय संवेदनाको संकेत गर्छ ।
दोस्रो पोस्टरमा दुवै कलाकार हात समातेर झरनाको बाटो हुँदै यात्रा गरिरहेको दृश्य समेटिएको छ । डोको बोकेकी गौमाया र भारी बोकेर अघि बढिरहेका दयाहाङको उपस्थितिले संघर्ष, प्रेम, सहयात्रा र जिम्मेवारीपूर्ण जीवनको कथा बोल्ने संकेत दिएको छ। प्राकृतिक सौन्दर्यबीचको दृश्यले चलचित्रको भावनात्मक पक्षलाई थप सशक्त बनाएको छ।
त्यसैगरी, तेस्रो पोस्टरमा दयाहाङ सैनिक पोसाकमा देखिएका छन् भने गौमाया परम्परागत गुरुङ पहिरनमा प्रस्तुत छिन्। पृष्ठभूमिमा रहेका युवा पात्रहरूको उपस्थितिले प्रेम, प्रतीक्षा, परिवार र पुस्तान्तरणको कथालाई संकेत गरेको छ।
माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रले आशा, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राख्दै जीवनमा लक्ष्य प्राप्तिका लागि आवश्यक प्रयासको कथा प्रस्तुत गर्ने निर्देशक गुरुङले बताएका छन् ।
चलचित्रमा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई, सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरलगायत कलाकारहरूको अभिनय रहेको छ। कथा तथा निर्देशन माओत्से गुरुङकै रहेको चलचित्रको छायांकन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, कलरिस्ट राजेन्द्र मोक्तान, साउन्ड डिजाइन उत्तम न्यौपाने, सिंक साउन्ड नवीन श्रेष्ठ, भिएफएक्स मनोज श्रेष्ठ र कला निर्देशन राजु याक्चाले गरेका छन् ।
मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङ निर्माता रहेको चलचित्रमा डी.बी. गुरुङ प्रोडक्सन म्यानेजर रहेका छन् । चलचित्रको नेपाल वितरणको जिम्मेवारी आरआर फिल्म्सले लिएको छ ।