नेपाली चलचित्र ‘खुस्मा’का निर्देशक अशोक थापा मगरको नयाँ चलचित्र ‘जलाकी’ आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले सार्वजनिक गरेका दुई फरक भावका पोस्टरले चलचित्रप्रति दर्शकमाझ उत्सुकता बढाएको छ ।
पोस्टरमा मुख्य कलाकार सोनाम तोप्देन र उपासना सिंह ठकुरीलाई प्रेम, आत्मीयता, पीडा र सम्बन्धभित्रको भावनात्मक द्वन्द्व झल्किने दुई फरक मनोविज्ञानमा प्रस्तुत गरिएको छ । निर्देशक मगरका अनुसार चलचित्रले मगर र गुरुङ समुदायको संस्कृति, परम्परा, पहिचान र मानवीय सम्बन्धलाई प्रेमकथासँग जोडेर प्रस्तुत गर्नेछ ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सोनाम र उपासनासँगै शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय रहेको छ भने मिस सिक्किम साहारा हाङमा लिम्बूले यसैबाट नेपाली चलचित्रमा डेब्यु गरेकी छन् ।
निर्माताका रूपमा ओम घर्ति मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी रहेका छन् । चलचित्रमा शैलेन्द्र डी. कार्कीको छायांकन, एसडी योगी र सरित राईको संगीत, सुरेन्द्र राना र राम अविरल विष्टका गीत रहेका छन् ।
‘खुस्मा’को सफलतापछि निर्देशक मगरले ‘जलाकी’ले पनि दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन् । गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्ने चलचित्रको प्रचारप्रसार अब गीत, टिजर र ट्रेलरमार्फत थप तीव्र बनाइने निर्माण पक्षले जनाएको छ ।