नेपाली फिल्म ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ । कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रु नेपाल प्रा.लि.को प्रस्तुतिमा बनेको फिल्मको गीतले आमाको ममता, त्याग र वृद्धाश्रमसम्म पुग्न बाध्य भएका आमाहरूको पीडादायी यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ ।
सार्वजनिक गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर रहेको छ भने डा. कृष्णहरि बरालको शब्द, अर्जुन पोखरेलको संगीत रहेको छ । कथावस्तुको भावलाई समेट्ने गरी तयार गरिएको गीतको भिडियोमा अतिथि कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मासहित मुख्य कलाकार आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुषाल र चैत्यदेवी सिंहलाई देख्न सकिन्छ ।
गीतको भिडियो भावअनुसार सशक्त रूपमा निर्माण गरिएको छ । कोरियोग्राफर रामजी लामिछानेले गीतको संवेदनालाई दृश्यमा प्रभावकारी रूपमा उतारेका छन् भने छायांकनमा पनि निर्माण टोलीको विशेष मेहनत देखिन्छ ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी रहेको छ । विष्णु घिमिरे ‘कल्पित’ डीओपी रहेको फिल्ममा मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन रहेको छ । परिच्छेद सेनको पटकथा तथा संवाद, गोविन्द फुयाल र शिशिर चालिसेको लेखन तथा विवेक बस्नेत र ईश्वर सिंखेमानको छायांकन रहेको फिल्मको प्रोडक्सन म्यानेजमेन्ट ईश्वर घिमिरेले सम्हालेका छन् ।
फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोदकुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापालगायत कलाकारको अभिनय रहेको छ ।
तीन वर्षअघि प्रदर्शनमा आएको ‘झिंगे दाउ’ले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेकाले यसको सिक्वेल ‘झिंगे दाउ २’प्रति पनि दर्शकको उच्च अपेक्षा रहेको छ । फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्नेछ । यस चलचित्र असोज २ गते प्रदर्शनमा आउन लागेको हो ।