नेपाली फिल्म ‘हली’ को निर्माण टिमले राष्ट्रिय धान दिवसको अवसर पारेर ललितपुरको सुनाकोठीमा सामूहिक रोपाइँ गरेको छ । किसानको जीवन र संघर्षमा आधारित फिल्म भएकाले निर्माण टिमले असार १५ लाई विशेष रूपमा मनाउँदै खेतमै पुगेर धान रोपेको हो ।
रोपाइँ कार्यक्रममा अभिनेता प्रमोद दीप, अभिनेत्री सुजता थापा, विद्या कार्की, संगीतकार बाबुल गिरी तथा निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठलगायत सहभागी भएका थिए । कलाकारहरूले हिलोमा धान रोप्दै किसानप्रति सम्मान व्यक्त गरेका थिए ।
निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठका अनुसार किसानकै कथा बोकेको फिल्म भएकाले असार १५ को अवसरमा खेतमा पुगेर रोपाइँ गर्नु अर्थपूर्ण लागेको हो। उनीहरूले असार १५ नेपाली किसानको मेहनत, उत्पादन र समृद्धिसँग जोडिएको पर्व भएकाले त्यसको सन्देश फिल्मसँग पनि मेल खाने बताए।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको ‘हली’ वास्तविक घटनाबाट प्रेरित कथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ । समाज र देशमा सकारात्मक परिवर्तन ल्याउन एक जना ‘हली’ पनि पर्याप्त हुन सक्छ भन्ने सन्देश फिल्मले दिने विश्वास निर्माण टिमको छ ।
ओम प्रतीकको लेखन तथा निर्देशन रहेको फिल्ममा व्यवसायी पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी छ । फिल्ममा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ भने निर्देशक ओम प्रतीक स्वयं पनि मुख्य भूमिकामा देखिएका छन् ।
फिल्मका गीतमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माको विशेष उपस्थिती रहेको छ । कविराज गहतराजले कोरियोग्राफी गरेको फिल्मका केही गीतमा निर्देशक ओम प्रतीकले पनि संयुक्त रूपमा कोरियोग्राफी गरेका छन् ।
फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्मचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन् । राहुल राईको छायांकन रहेको फिल्मको सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन् ।
कुमार महर्जनले द्वन्द्व निर्देशन गरेको फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्नेछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ । यस चलचित्र साउन २२ गतेदेखि प्रदर्शनमा आउन लागेको हो ।