नेपाली सांगीतिक बजारमा गायक तथा र्यापर आर रोयल (रमण खड्गी)को नयाँ गीत ‘माया बस्ला है’ सार्वजनिक भएको छ । केही दिनअघि रिलिज गरिएको गीत विभिन्न डिजिटल स्ट्रिमिङ प्लेटफर्मका साथै सुपरस्टार इन्टरटेन्टमेन्टको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।
यो गीत सुपरस्टार इन्टरटेन्टमेन्टको दोस्रो म्युजिक भिडियो परियोजनाअन्तर्गत सार्वजनिक गरिएको हो । यसअघि कम्पनीले रुथलेसको स्वरमा रहेको ‘नखोज मेरो फाइदा तिमी’ सार्वजनिक गरेको थियो, जसले युट्युबमा ३० लाखभन्दा बढी भ्युज बटुल्दै उल्लेखनीय सफलता हासिल गरेको थियो ।
‘माया बस्ला है’को शब्द तथा संगीत स्वयं आर रोयलकै रहेको छ । आधुनिक डान्सिङ बिट्स र मेलोडिक शैलीमा तयार गरिएको गीतको संगीत निर्माण दिप्सन र रुथलेसले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी रुथलेसले सम्हालेका छन् ।
गीतको भिडियोमा आर रोयलसँगै निशा श्रेष्ठ मुख्य भूमिकामा देखिएकी छन् । प्रेम र आकर्षणको भावलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको भिडियोका लागि विभिन्न सेट निर्माण गरिएको छ । भिडियोमा अश्मी भुजेलको कोरियोग्राफी रहेको छ भने निर्देशन बिधान प्रधानले गरेका हुन् ।
सार्वजनिक भएको छोटो समयमै गीतले युट्युबमा ५ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ। गीतको संगीत, दृश्य प्रस्तुति तथा कलाकारहरूको केमेस्ट्रीप्रति दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको निर्माण पक्षले जनाएको छ ।
गीतबारे आर रोयलले आफ्नो सांगीतिक शैली र भावनालाई दर्शकमाझ नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास गरेको बताए । निर्देशक बिधान प्रधानले पनि दर्शकको साथ र मायाप्रति आभार व्यक्त गर्दै आगामी महिनाहरूमा थप नयाँ परियोजना सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका छन् ।