नेपाली संगीत क्षेत्रको प्रतिष्ठित ‘नेशनल म्युजिक अवार्ड’को आठौं संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ । रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अवार्ड समारोह ललितपुरको पुल्चोकस्थित ‘द प्लाजा’मा हुने जानकारी दिएको हो ।
यस वर्षको अवार्डमा १४ विधामा उत्कृष्ट स्रष्टा तथा कलाकारलाई सम्मान गरिनेछ। साथै, लाइफ टाइम अचिभमेन्ट अवार्डसँगै Xtreme Energetic Performer of the Year समेत प्रदान गरिने आयोजकले जनाएको छ ।
अवार्ड समारोहलाई सांगीतिक महोत्सवका रूपमा प्रस्तुत गरिनेछ। कार्यक्रममा जोन एण्ड द लोकल्स, दीपक बज्राचार्य, उज्जन साक्य, समृद्धि राई, मन्त्र ब्याण्ड, शिव परियार, यमन श्रेष्ठ, सलिना बिक, सजिश श्रेष्ठ, कमेडियन प्रभात लामा तथा कर्मा सिङ लामा लगायतका चर्चित कलाकारहरूको प्रस्तुति रहनेछ ।
अवार्ड अन्तर्गत उत्कृष्ट नवगायकरगायिका, उत्कृष्ट रचनाकार, उत्कृष्ट संगीत निर्देशक, उत्कृष्ट लोकदोहोरी गायकरगायिका, उत्कृष्ट पार्श्व गायकरगायिका, उत्कृष्ट पप गायकरगायिका, उत्कृष्ट सांगीतिक समूह, उत्कृष्ट हिपहप तथा आरएनबी कलाकार र उत्कृष्ट आधुनिक गायकरगायिकासहित १४ विधामा पुरस्कार प्रदान गरिनेछ ।
गीत–संगीत र कला क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउँदै आएका एक व्यक्तित्वलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिनेछ । उक्त पुरस्कारको राशी एक लाख रुपैयाँ निर्धारण गरिएको छ ।
यसपटक पनि श्रोताको सहभागितामा ‘पिपुल्स च्वाइस अवार्ड’ प्रदान गरिनेछ। यसका लागि दर्शक तथा श्रोताले ई–सेवामार्फत मतदान गर्न सक्नेछन् । सर्वाधिक मत प्राप्त गर्ने गीत र स्रष्टाले यो अवार्ड प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार २०८२ वैशाख १ गतेदेखि २०८२ चैत मसान्तसम्म विश्वभर सार्वजनिक भएका नेपाली गीतलाई आधार बनाएर विभिन्न विधामा उत्कृष्ट पाँच–पाँच मनोनयन चयन गरिएको हो । मनोनयन प्रक्रिया तीन सदस्यीय जुरीको मूल्यांकनका आधारमा सम्पन्न भएको जनाइएको छ ।
यस वर्षको कार्यक्रममा सयभन्दा बढी कलाकारको सहभागिता रहने अपेक्षा गरिएको छ । कान्तिपुर पब्लिकेसनका चिफ मार्केटिङ अफिसर सागर केसीले ‘नेशनल म्युजिक अवार्ड’ नेपाली संगीत उद्योगको साझा मञ्चका रूपमा स्थापित भएको उल्लेख गर्दै यसलाई समग्र नेपाली संगीतको प्रवर्द्धन गर्ने महत्वपूर्ण कार्यक्रमका रूपमा लिन आग्रह गरे ।