चलचित्र विकास बोर्डले आफ्नो २६औँ वार्षिकोत्सव विविध कार्यक्रम, सम्मान, पुस्तक विमोचन तथा नयाँ योजनाको घोषणासहित भव्य रूपमा सम्पन्न गरेको छ । काठमाडौंस्थित बोर्डको प्रेक्षालयमा आयोजित समारोहमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने बोर्डका अध्यक्ष दिनेश डी.सी.ले कार्यक्रमको अध्यक्षता गरेका थिए ।
कार्यक्रममा बोर्डका सदस्य–सचिव राजेश कुमार थापाले बोर्डले चलचित्र क्षेत्रको संस्थागत विकास, अभिलेखीकरण, डिजिटल सेवा विस्तार तथा चलचित्रकर्मीको सम्मानलाई प्राथमिकतामा राख्दै काम गरिरहेको जानकारी दिए । प्रमुख अतिथि मन्त्री तिमिल्सिनाले सरकारले चलचित्र उद्योगका समस्या र आवश्यकताप्रति संवेदनशील रहेको उल्लेख गर्दै निर्माणाधीन चलचित्रसम्बन्धी कानुन तथा नीतिमा चलचित्रकर्मीका सुझाव समेटिनुपर्ने धारणा व्यक्त गरे । उनले चलचित्र विकास बोर्डलाई उद्योगको अभिभावकीय संस्थाका रूपमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न आग्रहसमेत गरे ।
समारोहको प्रमुख आकर्षणका रूपमा नेपाली चलचित्र क्षेत्रलाई डिजिटल प्रविधिसँग जोड्ने उद्देश्यले तयार गरिएको ‘सिनेपा’ एप सार्वजनिक गरिएको थियो । साथै बोर्डले आफ्ना वार्षिक गतिविधि समेटिएको ‘शब्दचित्रमा चलचित्र बोर्डको गतिविधि’ र ‘सिनेपास्’ पुस्तक पनि विमोचन गरेको छ । बोर्डले यस्ता प्रकाशनले नेपाली चलचित्रको अभिलेखीकरण तथा अध्ययन–अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
वार्षिकोत्सवका अवसरमा बोर्डका दुई कर्मचारीलाई सम्मान गरिएको थियो भने स्टोरी बोर्डबाट छनोट भएको चलचित्र ‘सुरिलो रुख’ लाई निर्माण सहायतास्वरूप ४ लाख रुपैयाँ हस्तान्तरण गरिएको छ। नयाँ र सिर्जनात्मक परियोजनालाई प्रोत्साहन गर्ने नीति अनुरूप यस्तो सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिइने बोर्डले जनाएको छ।
बोर्डले स्थापना यता २६ वर्षको अवधिमा ७ करोड रुपैयाँभन्दा बढी व्यापार गरेका ३१ नेपाली चलचित्रको सूची पनि सार्वजनिक गरेको छ। सूचीमा ‘पूर्णबहादुरको सारङ्गी’, ‘कबड्डी ४’, ‘१२ गाउँ’, ‘जारी’, ‘छक्का पन्जा’ शृङ्खला, ‘महाजात्रा’, ‘प्रेमगीत ३’, ‘पुजार सार्की’ र ‘महापुरुष’ लगायतका सफल चलचित्र समावेश छन्। बोर्डका अनुसार यसले नेपाली चलचित्र उद्योगको व्यावसायिक इतिहास र बजार विस्तारको अभिलेख तयार गर्न सहयोग पुग्नेछ।
यस अवसरमा राष्ट्रिय चलचित्र पुरस्कार निर्णायक समितिका पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्नुका साथै राष्ट्रिय चलचित्र पुरस्कार २०८२ अन्तर्गत छुटेका केही सम्मानसमेत प्रदान गरिएको थियो।
चलचित्र क्षेत्रमा योगदानसँगै साहसिक उपलब्धि हासिल गरेका चलचित्रकर्मीलाई पनि विशेष सम्मान गरिएको छ। २५ वर्षभित्र सगरमाथा आरोहण सफलतापूर्वक सम्पन्न गरेका निशा अधिकारी, अर्जुन कार्की, कविता नेपाली, रोजिता बुद्धाचार्य र मेकअप आर्टिस्ट निलम पौडेललाई सम्मान प्रदान गरिएको हो।
त्यस्तै, लघु चलचित्र तथा वृत्तचित्र प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो। बोर्डले यस्ता प्रतियोगिताले मौलिक विषयवस्तु, भाषिक विविधता र वैकल्पिक कथालाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।
समारोहमा विशिष्ट, विशेष तथा चलचित्रकर्मी श्रेणीका परिचयपत्र पनि वितरण गरियो। विशिष्ट श्रेणीमा ऋषि लामिछाने, गोविन्द राई, बाबु साहेब बलामी, विनोद कुमार भट्टराई र विनोद प्रसाद मानन्धर सम्मानित भए। विशेष श्रेणीअन्तर्गत उपासना सिंह, रेखा शर्मा, खगेन्द्र प्रसाद लामिछाने, दयाहाङ राई, दीपेन्द्र के। खनाल, प्रदीप भट्टराई, पुष्प खड्का, विजय बराल, बेनिशा हमाल, रोजिना सिटौला, विपिन कार्की र सुरक्षा पन्तलगायतलाई परिचयपत्र प्रदान गरिएको थियो। कलाकार, लेखक, निर्देशक, प्राविधिक तथा वितरक क्षेत्रका अन्य चलचित्रकर्मीलाई पनि परिचयपत्र वितरण गरिएको बोर्डले जनाएको छ।
कार्यक्रममा मन्त्रालयका उच्च अधिकारी, बोर्डका पदाधिकारी, चलचित्रसम्बद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधि, कलाकार, निर्माता, निर्देशक, पत्रकार तथा चलचित्रकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वार्षिकोत्सवको पूर्वसन्ध्यामा बोर्डले मृगस्थलीमा वृक्षारोपण तथा आफ्नै परिसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिएको थियो।
समारोहको समापनमा बोर्ड अध्यक्ष दिनेश डी।सी।ले चलचित्र क्षेत्रलाई नीतिगत, संस्थागत र व्यावसायिक रूपमा थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै डिजिटल रूपान्तरण, चलचित्रकर्मीको सम्मान, चलचित्र अभिलेखीकरण, सफल चलचित्रको तथ्यांक संकलन तथा सिर्जनात्मक परियोजनाको प्रवर्द्धन आगामी प्राथमिकतामा रहने बताए।
यस वर्षको वार्षिकोत्सवले चलचित्र क्षेत्रका अग्रजदेखि नयाँ पुस्तासम्मलाई एउटै मञ्चमा जोड्दै सम्मान, प्रविधि र नीतिगत सुधारलाई एकसाथ अघि बढाउने बोर्डको स्पष्ट प्रतिबद्धता प्रस्तुत गरेको छ।