‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ भन्ने मूल नारासहित आयोजित ‘१३औँ म्यूजिकखबर म्यूजिक अवार्ड–२०८२’ सम्पन्न भएको छ । काठमाडौंको बालुवाटारमा आयोजित समारोहमा नेपाली गीत–संगीतका विभिन्न ३३ विधामा उत्कृष्ट स्रष्टा तथा कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गरिएको हो ।
नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा म्यूजिकखबरको प्रस्तुति तथा शुभकामना मिडिया सोलुसनको आयोजनामा अवार्ड सम्पन्न भएको थियो । अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्व रहेको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला, निर्देशक मोहन निरौला, निर्देशक प्रकाश सायमी, संगीतकार शक्तिबल्लभ, गीतकार चूडामणि देवकोटा, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, गायिका देविका बन्दना, गायक दुर्गा रायमाझीलगायत कला र संगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
समारोहको प्रमुख आकर्षणका रूपमा वरिष्ठ संगीतकार शम्भूजीत बासकोटालाई नेपाली संगीत क्षेत्रमा पुर्याएको दीर्घ योगदानको कदर गर्दै ‘म्यूजिकखबर दीर्घ साधना सम्मान–२०८२’ प्रदान गरिएको थियो । दोसल्ला, सम्मानपत्र र नगद ५१ हजार रुपैयाँसहित उनलाई सम्मान गरिएको हो । सम्मानको अवसरमा गायिका टीका प्रसाईंले विशेष सांगीतिक प्रस्तुति दिएकी थिइन् ।
यसैगरी ३५ वर्षदेखि गीत–साहित्य क्षेत्रमा सक्रिय उन्नती शीला बोहरालाई ‘म्यूजिकखबर शब्द शीला विशिष्ट सम्मान’, वरिष्ठ गीतकार विजय शिवाकोटीलाई ‘म्यूजिकखबर रजत संगीत सम्मान’ तथा गायक शिव परियार र गायिका कालिका रोका मगरलाई ‘म्यूजिकखबर दशक संगीत सम्मान’ प्रदान गरियो ।
त्यस्तै गीतकार पुरुषोत्तम सानु र सुशीला पौडेललाई ‘युवा संगीत सम्मान’, अमेरिकाबाट नेपाली गीत–संगीतमा योगदान दिँदै आएकी पुष्पा खनाललाई ‘डायस्पोरा संगीत सम्मान’, पत्रकार कुवेर गिरी र गोपीकृष्ण चापागाईंलाई नगदसहित ‘संगीत पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो । बालकलाकार युनिश घिमिरे, गायिका नीता आचार्य, डा. रणजित झा तथा सञ्चारकर्मी उदयराज शर्मा पनि विभिन्न सम्मानबाट विभूषित भए ।
लोकप्रिय गीतकार लोकराज अधिकारीको संयोजकत्वमा वरिष्ठ गीतकार–संगीतकार कस्तुप पन्त र गायिका देवी घर्ती सम्मिलित निर्णायक मण्डलले विभिन्न विधाका उत्कृष्ट स्रष्टा छनोट गरेको थियो ।
अवार्डतर्फ सुगम संगीतमा प्रविन बेडवाल ‘हृदयमा’ गीतबाट उत्कृष्ट गायक तथा सारिका घिमिरे ‘गुन भुल्यौ’बाट उत्कृष्ट गायिका घोषित भए । डम्बर याक्सो ‘मुस्कान छैन आज’बाट उत्कृष्ट गीतकार तथा शंकर थापा स्माइल ‘मेरा सुरहरू’बाट उत्कृष्ट संगीतकार बने। सरला श्रेष्ठ उत्कृष्ट महिला गीतकार र मनोज खड्का उत्कृष्ट डायस्पोरा गीतकार घोषित भए भने नरेन्द्र वियोगीले संगीत संयोजनतर्फ अवार्ड जिते ।
म्युजिक भिडियोतर्फ झरना रिसाल र सुरेश कोह्ली उत्कृष्ट मोडल घोषित भए । छायांकनतर्फ अजय रेग्मी, सम्पादनतर्फ पदम सुवेदी, निर्देशनतर्फ राहुल शाह तथा ध्वनि सम्पादनतर्फ नरेश बीबीसी पुरस्कृत भए । युगल गायनमा कर्णराज गिरी र कमला रेग्मी उत्कृष्ट बने भने राष्ट्रिय भावको गीततर्फ सुरेन्द्र खड्का सम्मानित भए। पप विधामा धनवीर थापा मगर, अर्जुन पोखरेल, रविन श्रेष्ठ र आश्रा कुँवरले विभिन्न अवार्ड जिते ।
चलचित्र गीत–संगीततर्फ चलचित्र लाज शरणम्को ‘च्यातिएको चोली’बाट सुरज पण्डित र ऊनको स्वीटरको ‘फकाउँछ काफ्ले’बाट झुमा लिम्बु उत्कृष्ट पार्श्वगायक–गायिका बने। चलचित्र एन्जिलाको ‘रात किन हुन्छ हजुर’बाट थानेश्वर गौतम उत्कृष्ट संगीतकार तथा ऊनको स्वीटरकै ‘फकाउँछ काफ्ले’बाट युवराज काफ्ले उत्कृष्ट चलचित्र गीतकार घोषित भए ।
लोकदोहोरी विधामा अर्जुन सापकोटा र लक्ष्मी आचार्य उत्कृष्ट गायक–गायिका बने । नवीन परियार, प्रसाद लामिछाने, पल शाह, नारायणी खत्री, दीप गुरुङ, रेखा पोख्रेल, मनोहर शर्मा र सुशीला गौतमले पनि आ–आफ्ना विधामा अवार्ड हात पारे । त्यसैगरी जुरी र क्रिटिक्स अवार्डतर्फ कल्याण श्रेष्ठ, पारसमणि बराल, सुनिल उप्रेती, केशव भट्टराई, छिरिङ भुटिया तथा बीबी अनुरागी सम्मानित भए ।
उद्घोषकद्वय मञ्जु पौडेल र निराजन भण्डारीले सञ्चालन गरेको समारोहमा पल शाह, नारायणी खत्री, टीका प्रसाईं, देवान खनाल, धिरज राई, युनिश घिमिरेलगायत कलाकारले सांगीतिक प्रस्तुति दिएर अवार्ड समारोहलाई थप आकर्षक बनाएका थिए ।