छायांकनको तयारीमा रहेको फिल्म ‘मन बिनाको धन २’ मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । नेपाली फिल्म उद्योगका सर्वाधिक व्यस्त र उच्च माग भएका कलाकारमध्ये एक विपिनको प्रवेशसँगै फिल्मको कलाकार टोली थप आकर्षक बनेको छ । यद्यपि, उनले फिल्ममा निर्वाह गर्ने भूमिकाबारे निर्माण पक्षले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन ।
टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कथा तथा निर्देशन टंक बुढाथोकीले गर्नेछन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन् । अहिले फिल्मको प्रि–प्रोडक्सनको काम तीव्र गतिमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ ।
यसअघि नै फिल्मका लागि अभिनेत्री पूजा शर्मा, अभिनेता महेश त्रिपाठी तथा कलाकार सरोज खनाल र किरण केसी अनुबन्धित भइसकेका छन् । अब विपिन कार्कीको आगमनसँगै फिल्मको कलाकार लाइनअप अझ सशक्त बनेको निर्माण पक्षको विश्वास छ ।
विशेषतः पूजा शर्मा र विपिन कार्की पहिलो पटक एउटै फिल्ममा सहकार्य गर्न लागेकाले उनीहरूको अनस्क्रिन केमेस्ट्रीप्रति दर्शकमाझ उत्सुकता बढ्ने अपेक्षा गरिएको छ ।
सामाजिक कथावस्तुमा आधारित फिल्ममा विपिनको सहभागिताप्रति निर्देशक टंक बुढाथोकी उत्साहित देखिएका छन् । उनका अनुसार केही सातादेखि विपिनसँग छलफल चलिरहेको थियो र उनले कथावस्तु मन पराउँदै फिल्ममा काम गर्न सहमति जनाएका हुन् । निर्देशक बुढाथोकीले दर्शकले विपिनलाई यस फिल्ममा नयाँ शैली र फरक प्रस्तुतिमा देख्न पाउने दाबी गरेका छन् ।
गत वर्ष प्रदर्शनमा आएको ‘मन विनाको धन’ले बक्स अफिसमा करिब ४ करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको थियो । पहिलो श्रृंखलाको सफलताबाट उत्साहित निर्माण पक्षले ‘मन विनाको धन २’ लाई अझ ठूलो स्तरमा र थप सशक्त रूपमा दर्शकमाझ प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ ।