काठमाडौंको कालिकास्थानस्थित नेपालयको आरशालामा गत शुक्रबार र शनिबार आयोजित ‘पलेँटी’ कार्यक्रममा गायक विधान श्रेष्ठले भावपूर्ण सांगीतिक प्रस्तुति दिएका छन् । करिब नौ वर्षपछि ‘पलेँटी’ मञ्चमा फर्किएका उनले झण्डै डेढ दर्जन गीत प्रस्तुत गर्दै दुई दिनसम्म दर्शक–श्रोताको मन जितेका हुन् ।
कार्यक्रममा उनले प्रस्तुत गरेका अधिकांश गीत उनका पिता, गीतकार तथा संगीतकार विजय श्रेष्ठका शब्द र संगीतमा आधारित थिए। कार्यक्रमको सुरुवात विजय श्रेष्ठको शब्द तथा दीप श्रेष्ठको स्वर र संगीतमा लोकप्रिय बनेको ‘म पत्थरको देवता होइन’ गीतबाट गरिएको थियो ।
पहिलो चरणमा ‘बुहारी झार झैँ’, ‘तिमीलाई साथ’, ‘बिर्सुँ भनेर चोट’, ‘जाँदैछु टाढा’ र ‘जलन छातीको’ जस्ता भावप्रधान गीतहरू प्रस्तुत भए । अन्तरमुखी स्वभावका रूपमा परिचित विधानले भने खुला र आत्मविश्वासपूर्ण शैलीमा गीत गाउँदै दर्शकलाई आकर्षित गरेका थिए ।
दोस्रो चरणमा ‘आज नाच्छे मेरी गौरी’, ‘हिँड लौ मायालु’ र ‘तारा जून’ जस्ता रोमान्टिक गीत समेटिएका थिए । त्यसपछि उनले दार्जिलिङका गीतकार तथा संगीतकार पारस गजमेरका ‘ती रमाइला याद’ र ‘सोल्टिनी भनी बोलाको’ गीत पनि सुनाए । ‘सोल्टिनी भनी बोलाको’ गीत हङकङको चर्चित ब्यान्ड ‘संगम’बाट चर्चामा आएको थियो ।
कार्यक्रममा लोकगीतहरूलाई पनि विशेष स्थान दिइएको थियो । विधानले ‘भक्तपुरे दही’, ‘कान्छीको अल्लारे जोवन’ तथा प्रेमध्वज प्रधानको स्वरमा चर्चित ‘यो नानीको सिरैमा इन्द्रकमल फूल फुल्यो’ जस्ता गीत प्रस्तुत गरेका थिए ।
अन्तिम चरणमा देशभक्तिपूर्ण गीतहरू समेटिएका थिए । ‘ज्ञानबहादुर छोरो’, ‘एकता नै बल हो’ र ‘माछी मार्न जाउँ न दाजै कालापानीमा’ जस्ता गीतले कार्यक्रमलाई उत्कर्षमा पुर्याएका थिए। विशेषगरी शुक्रबार ‘माछी मार्न जाउँ न दाजै कालापानीमा’ प्रस्तुत गरेपछि दर्शकले विधानलाई स्ट्यान्डिङ ओभेसन दिएका थिए ।
पहिलोपटक ‘पलेँटी’ हेर्न पुगेकी दर्शक काशिका राणाले कार्यक्रम अत्यन्तै प्रभावशाली लागेको प्रतिक्रिया दिँदै गायन, प्रस्तुति र समग्र प्याकेजिङको प्रशंसा गरिन् । भारतबाट नेपाल आएकी उनले बाबुसँगै कार्यक्रम हेर्ने अवसर पाएको बताइन् । आयोजकले आगामी महिनाको ‘पलेँटी’मा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र उनका सुपुत्र यमन श्रेष्ठलाई प्रस्तुत गरिने जानकारी पनि दिएका छन् ।
यसपटकको कार्यक्रममा किबोर्डमा दिनेशराज रेग्मी, बाँसुरीमा मिलन घिमिरे, लिड तथा रिदम गिटारमा प्रवीण पुलामी मगर, बेस गिटारमा आशिष श्रेष्ठ तथा रिदम सेक्सनमा सुन्दरकुमार महर्जन र पारसमणि सुवेदीले साथ दिएका थिए ।
हरेक अंग्रेजी महिनाको अन्तिम साता आयोजना हुँदै आएको ‘पलेँटी’ विगत २१ वर्षदेखि सञ्चालनमा रहेको प्रतिष्ठित सांगीतिक शृंखला हो । नेपाली संगीतका स्थापित स्रष्टासँगै नयाँ पुस्ताका कलाकारलाई पनि मञ्च प्रदान गर्दै आएको यस कार्यक्रमले आफ्नो निरन्तरता कायम राख्दै आएको छ।