नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘जीवनको आँधी ब्याधि’ सार्वजनिक गरिएको छ । गायिका अमला महर्जन (संगीत प्रवीण)को स्वर रहेको गीत सत्य नारायण प्रजापतिको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।
गीतमा धुन्डिराज पहाडीको शब्द र स्वर्गीय रविन दास श्रेष्ठको संगीत रहेको छ । सत्य नारायण प्रजापति र प्रवी जीले संगीत संयोजनसँगै रेकर्डिङ, मिक्सिङ र मास्टरिङको जिम्मेवारी सम्हालेका छन् । गीतको रेकर्डिङ भक्तपुरस्थित विवेक साउन्ड स्टुडियोमा सम्पन्न गरिएको हो ।
गीतको भिडियोको निर्देशन, कथा तथा अवधारणा सत्य नारायण प्रजापतिको रहेको छ । भिडियोमा कमला शाक्य, अमला महर्जन, रूपा न्यौपाने, चन्द्र महर्जन, डा. धुन्डिराज पहाडी र इन्जिनियर सत्य नारायण प्रजापतिको अभिनय देख्न सकिन्छ । विवेक शाक्यले छायांकन गरेको भिडियोको सम्पादन सत्य नारायण प्रजापतिले गरेका छन् भने कलर ग्रेडिङ र भिएफएक्सको काम पनि विवेक शाक्यले गरेका छन् ।
‘जीवनको आँधि ब्याधि’ले पहाडको कठोर यथार्थ, अथक संघर्ष, प्राकृतिक सौन्दर्य र जीवनको गहिरो दर्शनलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ । “जीवनको आँधि ब्याधि पहाडैले रोक्छ, अजङ्गको भारी पनि पहाडैले बोक्छ” जस्ता शब्दमार्फत गीतले पहाडको आत्मा र नेपाली जीवनको मर्मलाई सशक्त रूपमा अभिव्यक्त गरेको छ ।
निर्माण टिमका अनुसार गीतको मुख्य उद्देश्य नेपाली पहाडको मौलिकता, संस्कृति र जीवनदर्शनलाई नयाँ पुस्तासम्म पुर्याउनु हो । सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण पक्षले जनाएको छ ।