स्वर्गीय सशस्त्र प्रहरी निरीक्षक दुर्गा बाबु पाठकको स्मृतिमा स्थापना गरिएको ‘दुर्गा बाबु पाठक स्मृति संगीत पुरस्कार’ यस वर्ष नेपाल एपीएफ स्कूल कीर्तिपुरका विद्यार्थी मौलिक दुवाललाई प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी परिवार महिला संघको २५औँ वार्षिकोत्सव (रजत महोत्सव)को अवसरमा बुधबार आयोजित कार्यक्रममा एउटै ब्याचका सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सहप्रवक्ता शैलेन्द्र थापाले दुवाललाई पुरस्कार हस्तान्तरण गरेका हुन् । दुवाल विद्यालयमा संगीत विधाअन्तर्गत गायन तथा वाद्यवादनमा उत्कृष्ट ठहरिएका थिए ।
यसअघि उक्त सम्मान नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कूल, शम्भुनाथ–सप्तरीका प्रज्वल पौडेल तथा नेपाल एपीएफ स्कूल कीर्तिपुरका रायन घिमिरे, आशिष रोकाया, साइजित पाण्डे, अनिष थापा मगर र अर्जुन झाले प्राप्त गरिसकेका छन् ।
स्वर्गीय पाठकको सम्झनामा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम (सि.सं. ७) का सहकर्मी अधिकृतहरूले २०७३ सालमा सामूहिक रूपमा अक्षयकोष स्थापना गरेका थिए । उक्त कोषको ब्याजबाट प्रत्येक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवका अवसरमा नेपाल एपीएफ स्कूलमा अध्ययनरत संगीततर्फ उत्कृष्ट छात्र वा छात्रालाई यो पुरस्कार प्रदान गर्ने परम्परा रहेको छ ।
गीत–संगीतप्रति विशेष रुचि राख्ने पाठकले २०६०\०६१ सालमा चितवनमा सम्पन्न ‘सिनर्जी राइजिङ स्टार’ प्रतियोगिताको उत्कृष्ट १० मा स्थान बनाएका थिए । उनले आठौँ कालिका म्युजिक अवार्डमा ‘बेस्ट आर्टिस्ट’को उपाधिसमेत जितेका थिए । २०६४ सालमा खुला प्रतिस्पर्धामार्फत सशस्त्र प्रहरी निरीक्षकमा सेवा प्रवेश गरेका उनले ‘पंक्षी’ र ‘निन्द्रा लाग्दैन’ शीर्षकका दुई एल्बम पनि सार्वजनिक गरेका थिए ।
आफैँ गीत लेख्ने, संगीत सिर्जना गर्ने र गायनसमेत गर्ने बहुप्रतिभाशाली पाठकको सांगीतिक योगदानलाई चिरस्थायी बनाउने उद्देश्यले स्मृति अक्षयकोष स्थापना गरिएको हो । संगठनभित्र व्यावसायिक, अनुशासित, कर्तव्यनिष्ठ र इमान्दार अधिकृतका रूपमा परिचित उनको २०७२ चैत २८ गते धादिङको मलेखुमा कर्तव्य पालनाकै क्रममा भएको सडक दुर्घटनामा निधन भएको थियो ।