यतिबेला प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’ आफ्नो विषयवस्तु मात्र होइन, फरक शैलीको प्रचार अभियानका कारण पनि चर्चामा छ । अटिजमजस्तो संवेदनशील विषयलाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रले सुरुदेखि नै दर्शकको ध्यान तानेको थियो भने अहिले कलाकारहरूको सिर्जनात्मक प्रचार शैलीले यसको चर्चा अझ बढाइरहेको छ ।
चलचित्रका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्काले प्रचार अभियानलाई विशेष बनाउन निरन्तर नयाँ प्रयोग गरिरहेका छन् । गीत सार्वजनिक कार्यक्रममा उनीहरू चलचित्रकै पात्रअनुसार बेहुला–बेहुलीको वेशभूषामा उपस्थित भएका थिए । त्यसपछि पनि उनीहरूले यही शैलीलाई निरन्तरता दिँदै विभिन्न टेलिभिजन कार्यक्रम र अन्तर्वार्तामा चलचित्रका पात्रकै रूपमा प्रस्तुत भए ।
एक टेलिभिजन अन्तर्वार्तामा सिम्रनले आफू १५ वर्षको उमेरमै अटिजम भएका व्यक्तिसँग विवाह गरेको पात्रका रूपमा अनुभव सुनाएकी थिइन् भने अरुणले पनि चलचित्रमा निभाएको अटिजम भएका पात्रकै चरित्रमा रहेर संवाद गरेका थिए । उनीहरूको प्रस्तुति यति स्वाभाविक थियो कि सुरुमा धेरै दर्शकले वास्तविक पात्रको अन्तर्वार्ता भइरहेको ठानेका थिए। यही मौलिक प्रचार शैलीले चलचित्रलाई अझ धेरै दर्शकमाझ पुर्याउन मद्दत गरेको निर्माण टिमको विश्वास छ ।
निर्देशक डा. कपिल रिजाल र कथाकार डा. भोला रिजालको परिकल्पनामा कलाकारहरूले यस्तो प्रचार शैली अपनाएको जनाइएको छ । निर्देशक कपिलले यसअघि ‘ह्यारी कि प्यारी’ निर्देशन गरेका थिए, जसबाट उनले जितु नेपाललाई पहिलोपटक मुख्य भूमिकामा प्रस्तुत गरेका थिए । यसपटक भने उनले अटिजमजस्तो सामाजिक विषयलाई मुख्य कथावस्तु बनाएर नयाँ जोखिम उठाएका छन् । चलचित्रको कथावस्तु र प्रस्तुतिले सकारात्मक प्रतिक्रिया पाइरहेको बताइएको छ ।
चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन् ।
डा.भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन् ।
हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्नेछन्। यसको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।
उल्लेखनीय रूपमा, ‘गौँथली’ शीर्षकमै डा। भोला रिजालले दुई दशकअघि निर्माण गरेको चलचित्रलाई नेपालको पहिलो ‘गीति चलचित्र’ (म्युजिकल फिल्म) मानिन्छ, जसले प्रदर्शनको ५१ दिन पूरा गरेको थियो । अहिले सोही शीर्षकलाई नयाँ कथावस्तु र समकालीन प्रस्तुतिसहित डा. कपिल रिजालले पुनः पर्दामा ल्याएका हुन् । चलचित्र साउन १ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ ।