आयंका फिल्म्सको प्रस्तुतीमा निर्माण भएको चलचित्र ‘मास्टर्नी’को पहिलो लुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा शीर्ष भूमिकामा रहेकी अभिनेत्री प्रियंका कार्की रहस्यमय शैलीमा प्रस्तुत भएकी छन्, जसले चलचित्रप्रति दर्शकको उत्सुकता बढाएको छ ।
पोस्टरमा प्रियंका बाथटबमा शान्त मुद्रामा सुतेकी देखिए पनि उनका आँखाले गहिरो रहस्य बोकेको संकेत गर्छन् । बाहिरबाट संयमित र निस्पृह देखिने पात्रभित्र कुनै जटिल कथा लुकेको आभास पोस्टरले दिन खोजेको छ । अँध्यारो पानीभित्र तैरिरहेका सुनौला माछाले सतहमा शान्त देखिए पनि भित्र असामान्य घटना भइरहेको प्रतीकात्मक सन्देश दिएका छन् । पानीलाई सत्य वा अपराधका प्रमाण लुकाउने माध्यमका रूपमा समेत व्याख्या गर्न सकिने संकेत पोस्टरमा समेटिएको छ ।
प्रियंकाको अनुहारमा डरभन्दा बढी आत्मविश्वास झल्किएको छ । पोस्टरमा समावेश गरिएको अंग्रेजी ट्यागलाइन "The calmest mind planned the deadliest game." ले सबैभन्दा शान्त देखिने व्यक्तिले नै सबैभन्दा खतरनाक खेल रचेको हुन सक्ने संकेत गर्छ । यसले चलचित्रको मुख्य पात्र बाहिरबाट सामान्य देखिए पनि भित्र अत्यन्त चलाख र रहस्यमय रहेको अनुमान गर्न सकिन्छ। पोस्टर ट्राइडेन्ट कन्सेप्टका लागि रोयल भीमसेनले डिजाइन गरेका हुन् ।
शुभेन्दु घोषको निर्देशनमा बनेको चलचित्रका निर्माता प्रियंका कार्की, क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की हुन् । चलचित्रमा प्रियंकासँगै आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रकी कार्यकारी निर्माता सुरक्षा सिंह मल्होत्रा हुन् भने सिमोस सुनुवार क्रिएटिभ निर्माताका रूपमा आबद्ध छन् । प्रियंका कार्कीकै कथामा आधारित चलचित्रको पटकथा शान बस्नेतले लेखेका हुन् भने संवाद प्रियंका र शानले संयुक्त रूपमा तयार गरेका छन् । युवराज इन्दोरियाको छायांकन रहेको चलचित्रलाई राजा सिंह सिदुले सम्पादन गरेका छन् ।
निर्माण टिमले ‘मास्टर्नी’ लाई नेपालीसहित अन्य नौ भाषामा एकसाथ प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ । चलचित्र आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउनेछ ।