अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘रातो घेरा (द रेड सर्कल)’ औपचारिक रूपमा शुभारम्भ गरिएको छ । पाटनस्थित बंगलामुखी मन्दिरमा बिहीबार पटकथा पूजा गर्दै फिल्मको शुभमुहूर्त गरिएको हो । निर्माण टिमले फिल्मको छायांकन असार २५ गतेदेखि सुरु हुने जनाएको छ ।
विश्राम फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरूना मगर मुख्य भूमिकामा देखिनेछन् । उनीहरूसँगै करिब दुई दर्जन कलाकारहरूको अभिनय रहनेछ भने अधिकांश छायांकन काठमाडौं उपत्यकामा गरिने निर्माण पक्षले जनाएको छ । फिल्मलाई आगामी मंसिर १८ गते प्रदर्शनमा ल्याइने तयारी गरिएको छ ।
शुभमुहूर्त कार्यक्रममा दयाहाङ राई र मिरूना मगरले सत्य घटनामा आधारित सशक्त कथामा काम गर्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका थिए । निर्माण पक्षले उनीहरूको जोडीले दर्शकलाई यसपटक पनि उत्कृष्ट अभिनयसँगै फरक सिनेम्याटिक अनुभव दिने विश्वास व्यक्त गरेको छ ।
निर्देशक अनिल बुढा मगरका अनुसार फिल्म सामाजिक तथा भावनात्मक कथावस्तुमा आधारित छ । सत्य घटनाबाट प्रेरित कथा भएकाले कथ्य र प्राविधिक पक्षलाई उच्च प्राथमिकता दिएर निर्माण गरिने उनले बताए ।
फिल्मको निर्माणमा जीवन गुरूङसँगै कविता गुरूङ, भोजेन्द्र गुरूङ (भोज) र सरून शेरचन निर्माता रहेका छन् भने सुमन गुरूङ र खेम राना सह–निर्माताको भूमिकामा छन् । राजु स्याङ्तानले लेखेको फिल्मको छायांकन शिशिर बिसंखेले गर्नेछन् । संगीत मनोज थापा मगर र सागर आले मगरले तयार गर्नेछन् ।
फिल्ममा दयाहाङ राई र मिरूना मगरसँगै रजनी गुरूङ, अरूण पुन, सुनिल पोखरेल, भोला सापकोटा, सुरज तमु, खड्गबहादुर पुन (खबपु), सुस्मिता कुँवर, भावना खपांगी मगर, कविता आले, विजय पौडेल, बलबहादुर गुरूङ, इंगी होपो कोइच सुनुवार, उमेश सुनाम, शेखर चापागाईं, रामबाबु रेग्मी, सुवास गजुरेल, सुवास सिंह ठकुरी, रमिक सिंह ठकुरी, सुनिल तामाङ र डीबी गुरुङलगायत कलाकारहरूको अभिनय रहनेछ ।
फिल्मको निर्माण नियन्त्रण सन्देश राईले गर्नेछन् भने कस्ट्युम डिजाइन जानकी कठायत र प्रकाश व्यवस्थापन गुर्केश गुरूङको जिम्मेवारीमा रहनेछ । वितरणतर्फ काठमाडौं उपत्यकाको अधिकार काफीया फिल्म्सका गोविन्द शाहीले लिएका छन् भने उपत्यका बाहिर कुवेर सिने डिष्ट्रिब्युसनले फिल्म प्रदर्शन गर्नेछ ।