आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘गौँथली’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले सामाजिक यथार्थ, पारिवारिक सम्बन्ध र एक युवतीको शिक्षा प्राप्तिका लागि गरेको संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ ।
ट्रेलरमा विवाहपछि अटिजम भएका श्रीमान्सँग जीवन बिताउन बाध्य बनेकी एक युवतीले भोग्नुपरेका चुनौती, पढाइलाई निरन्तरता दिन गरेको संघर्ष तथा परम्परागत सोचसँगको टकरावलाई मुख्य विषय बनाइएको छ । मुख्य पात्रका रूपमा अरुण क्षेत्रीले स्वास्थ्य समस्याका कारण देखिने अस्वाभाविक व्यवहार प्रस्तुत गरेका छन् भने उनकी जीवनसाथीको भूमिकामा रहेकी सिम्रन खड्काले ती परिस्थितिको सामना गर्दै शिक्षा र आफ्ना सपनाका लागि संघर्ष गरिरहेको देखिन्छ ।
डा. कपिल रिजालको निर्देशन रहेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन् ।
डा. भोला रिजालको कथामा बनेको चलचित्रको पटकथा तथा संवाद निर्देशक डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार पारेका हुन् । चलचित्र भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको हो । सरला रिजाल कार्यकारी निर्माता रहेकी यस चलचित्रका निर्माता सुमन गिरी र डा.कपिल रिजाल हुन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा रहेका छन् ।
उल्लेखनीय रूपमा, ‘गौँथली’ शीर्षकमै डा. भोला रिजालले करिब दुई दशकअघि निर्माण गरेको चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । त्यही नामलाई निरन्तरता दिँदै यसपटक उनका छोरा डा. कपिल रिजालले नयाँ कथासहित चलचित्र निर्देशन गरेका हुन् ।
चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले गर्नेछन् भने डिजिटल पार्टनरका रूपमा ओएसआर डिजिटल रहेको छ ।