माया इन्टरटेन्मेन्टको प्रस्तुती तथा ‘कमेडी दरबार’ टिमको निर्माण रहेको फिल्म ‘ककाकिकी’को पहिलो झलक सार्वजनिक गरिएको छ । करिब तीन मिनेट लामो झलकले गाउँको विकासका लागि अघि बढेका पात्रहरूको कथा संकेत गर्दै फिल्मप्रति दर्शकको उत्सुकता बढाएको छ ।
सार्वजनिक झलकमा अभिनेत्री गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र अभिनेता महेश त्रिपाठी ‘कुलेबारी’ नामक गाउँको डाँडामा बसेर गाउँको भविष्यबारे योजना बनाइरहेका देखिन्छन् । उनीहरू गाउँका लागि केही नयाँ गर्ने उद्देश्यका साथ छलफलमा जुटेका छन् ।
झलकमा रेखा थापाले, “गाउँका लागि यो काम गर्दा केही भइहाल्यो भने के हुन्छ होलारु” भन्ने संवाद बोल्छिन् । त्यसपछि गौरी मल्लले, “एउटा सालिक त बनाउलान् नि हरामीहरूले” भन्दै रमाइलो शैलीमा प्रतिक्रिया दिन्छिन् । त्यसको जवाफमा तृप्ति नाडकरले, “सालिक त बनाउँदैनन् होला, अब हामी नै मिस्त्री भएपछि कसले आएर बनाइदेला त सालिकरु” भन्ने संवादमार्फत हास्यरस थपेकी छन् ।
आगामी भदौ १९ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको पहिलो झलक सार्वजनिक भएसँगै निर्माण पक्षले प्रचार अभियान औपचारिक रूपमा सुरु गरेको जनाएको छ । निर्देशकद्वय बिक्की अग्रवाल र श्रद्धा प्रसाईंले आफूहरूले इमान्दारीपूर्वक मेहनत गरेर फिल्म तयार पारेको र अब त्यसको मूल्यांकन दर्शकले गर्ने बताएका छन् ।
निर्देशक बिक्की अग्रवालले, “हामीले अहिले नै ठूलो दाबी गर्दैनौं । राम्रो फिल्म बनाउने प्रयास गरेका छौं, अब निर्णय दर्शकको हातमा छ,” भने। यस्तै श्रद्धा प्रसाईंले कलाकार र प्राविधिक टोलीको पूर्ण साथका कारण फिल्म उत्कृष्ट बनेको विश्वास व्यक्त गरिन् ।
झलक सार्वजनिक कार्यक्रममा कलाकार गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, दिया मास्के, महेश त्रिपाठी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी) लगायत उपस्थित थिए । उनीहरूले फिल्म छायांकनका अनुभव र निर्माण यात्राबारे आफ्ना धारणा पनि साझा गरे ।
फिल्ममा माउत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको पनि अभिनय रहेको छ ।
फिल्मको कथा तथा पटकथा लेखन निर्देशक बिक्की अग्रवालसँगै सरोज भण्डारी र बिकाश अर्यालले गरेका हुन् । श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको फिल्मको कन्सेप्ट सुमन अग्रवालको हो भने स्क्रिप्ट डक्टरको भूमिका विश्वास तिमल्सिना (बीटी कान्छा)ले निर्वाह गरेका छन् ।
सुदीप बरालको डीओपी रहेको फिल्ममा मुख्य सहायक निर्देशक अनिश बुढाथोकी र सहायक निर्देशक विशाल राई हुन् । मेकअपमा अनिस तामाङ, कस्ट्युम डिजाइनमा सुमन परियार तथा प्रोडक्सन हेडमा अरुण रेग्मी रहेका छन् । फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ भने अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेशनलले प्राप्त गरेको निर्माण पक्षले जनाएको छ ।