हरितालिका तीजको अवसर पारेर चलचित्र ‘बेहुली’ आगामी भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ । ‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रको काठमाडौंमा आयोजित विशेष समारोहमा आधिकारिक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।
सार्वजनिक पोस्टरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय) र अभिनेत्री दिव्या रायमाझीको भावनात्मक प्रेमकथाको झल्को देखाइएको छ । हातमा हतकडी लगाएका पारस र बेहुलीको पहिरनमा सजिएकी दिव्याको दृश्यले चलचित्रमा प्रेम, संघर्ष र सामाजिक द्वन्द्वको कथा रहेको संकेत गर्छ। पोस्टर सार्वजनिक कार्यक्रममा दुवै कलाकार पोस्टरकै झल्को दिने पहिरनमा उपस्थित भएका थिए ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको कथामा बनेको चलचित्रमा पारस, दिव्या र सुशान्त कार्कीको मुख्य भूमिका रहेको छ । साथै पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, नरेन्द्र मैनालीको छायांकन, विकास दाहालको सम्पादन तथा रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ । प्रताप शमशेर राणा निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा शङ्कर कोइराला र रमेश सिलवाल छन् ।
काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले चलचित्र वितरण गर्नेछन् भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको निर्माण पक्षले जनाएको छ ।