साउन १ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘गौँथली’ले प्रदर्शनअघि नै दर्शकमाझ उल्लेखनीय उत्साह सिर्जना गरेको छ । सार्वजनिक भएको टिजर र विशेषगरी ट्रेलरले सकारात्मक प्रतिक्रिया बटुल्दै चलचित्रप्रतिको अपेक्षा झनै बढाएको हो ।
सार्वजनिक गरिएको ट्रेलर अहिले युट्युबको नेपाल ट्रेन्डिङमा चलचित्रतर्फ दोस्रो स्थानमा पुगेको छ । ट्रेलरले पाएको लोकप्रियताले चलचित्रप्रति दर्शकको चासो र प्रतिक्षा बढ्दै गएको संकेत दिएको छ ।
भावनात्मक कथावस्तु, संवेदनशील प्रस्तुति र कलाकारहरूको प्रभावशाली अभिनयका कारण ‘गौँथली’ले प्रदर्शनसँगै बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । ट्रेलर हेरेका दर्शकहरूले सामाजिक सञ्जाल र युट्युबमार्फत चलचित्रलाई अग्रिम सफलताको शुभकामना दिइरहेका छन् ।
दर्शकका प्रतिक्रियामा चलचित्रको भावनात्मक पक्षलाई विशेष रूपमा प्रशंसा गरिएको छ । केहीले ‘पूर्णबहादुरको सारङ्गी’ले बनाएको व्यापारिक कीर्तिमानलाई समेत ‘गौँथली’ले चुनौती दिन सक्ने विश्वास व्यक्त गरेका छन् । धेरैले “नेपाली फिल्म भनेको यस्तै हुनुपर्छ” भन्दै चलचित्र सुपरहिट हुने कामना गरेका छन् ।
ट्रेलरमा अटिजम भएका युवकको भूमिकामा देखिएका अरुण क्षेत्री र उनकी जोडीका रूपमा रहेकी सिम्रन खड्काको अभिनयलाई दर्शकले निकै रुचाएका छन् । प्रचार–प्रसारका क्रममा उनीहरूले देखाएको मेहनतको पनि खुलेर प्रशंसा भइरहेको छ ।
‘गौँथली’ले अटिजम भएका युवकसँग विवाह गरेकी युवतीको जीवन, शिक्षा हासिल गर्ने संघर्ष, समाजमा विद्यमान परम्परागत सोच र त्यसले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको छ ।
चलचित्रको निर्देशन डा. कपिल रिजालले गरेका हुन् । कलाकारमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपाली रहेका छन् । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीको अभिनय देख्न सकिनेछ ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन् ।
चलचित्रमा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने पाश्र्व संगीत एलिस कार्कीले दिएका छन् । छायांकन हरि हुमागाईं, सम्पादन मिलन श्रेष्ठ, ध्वनि मिश्रण मुकेश शाह, रङ संयोजन राजेन्द्र मोक्तान तथा कोरियोग्राफी रामजी लामिछाने र मौसम हिमालीको रहेको छ । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक तथा आर्यन अधिकारी र बुद्धि नेपाली सहायक निर्देशकका रूपमा रहेका छन् ।
डा. भोला रिजालले करिब दुई दशकअघि पनि ‘गौँथली’ नाममै चलचित्र निर्माण गरेका थिए, जसलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । प्रदर्शनका क्रममा उक्त चलचित्रले ५१ दिनसम्म सफल प्रदर्शन गरेको थियो । अहिले सोही शीर्षकलाई नयाँ कथावस्तु र नयाँ प्रस्तुतिसहित डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले पुनः दर्शकमाझ ल्याएका हुन् ।
‘गौँथली’लाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले वितरण गर्दैछन् भने ओएसआर डिजिटल यसको डिजिटल पार्टनर हो ।