भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जुलाई महिनाभर नेपाली चलचित्र प्रदर्शन गर्ने विशेष कार्यक्रम सुरु गरेको छ । नेपाली चलचित्र, भाषा, कला, संस्कृति तथा कलाकारको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानअन्तर्गत प्रत्येक साता एक नेपाली चलचित्र प्रदर्शन गरिनेछ ।
राजदूतावासका अनुसार चलचित्र प्रदर्शनसँगै सम्बन्धित फिल्मका कलाकार, निर्देशक तथा अन्य चलचित्रकर्मीलाई आमन्त्रण गरी दर्शकसँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिनेछ । यसबाट नेपाली चलचित्रबारे प्रत्यक्ष संवाद र अनुभव आदानप्रदान गर्ने अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमको उद्घाटन समारोहमा अभिनेत्री बिपना थापालाई नेपाली चलचित्र क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मान गरिएको थियो । सम्मानपछि प्रतिक्रिया दिँदै थापाले राजदूतावासको पहललाई अत्यन्त सकारात्मक भएको बताइन् ।
उनले भनिन्, “यस्ता कार्यक्रमले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउन महत्त्वपूर्ण योगदान पुर्याउनेछ । साथै, विदेशमा रहेका नेपाली समुदायलाई आफ्नै भाषा, कला र संस्कृतिसँग अझ नजिक जोड्न पनि सहयोग पुग्नेछ ।”
यस शृंखलाअन्तर्गत आगामी शुक्रबार अभिनेता प्रदीप खड्का अभिनित चलचित्र ‘एक्लो’ प्रदर्शन गरिनेछ । त्यसपछि अभिनेता नाजिर हुसेन अभिनित चलचित्र ‘गुन्युचोलो’ प्रदर्शन हुनेछ । दुवै चलचित्रका कलाकारलाई पनि कार्यक्रममा सहभागी गराउने तयारी गरिएको छ भने सहभागिताका लागि निमन्त्रणा समेत पठाइसकिएको राजदूतावासले जनाएको छ ।
कार्यक्रमका क्रममा नेपाली चलचित्रको इतिहास, वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे समेत छलफल गरिने जनाइएको छ ।