पूर्ण रूपमा हास्यव्यङ्ग्यमा आधारित नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’को औपचारिक शुभमुहूर्त सम्पन्न भएको छ । होराइजन मोसन पिक्चर्स प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको वैदिक विधिअनुसार पूजा–आराधनासहित शुभारम्भ गरिएको हो । कार्यक्रममा निर्माण टोली, कलाकार तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । मुहूर्त शटसँगै चलचित्रको निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ भने यसको छायाङ्कन आगामी असार २९ गतेदेखि सुरु गरिने निर्माण पक्षले जनाएको छ ।
आभास अधिकारीको कथा तथा अवधारणामा बन्न लागेको चलचित्रको निर्देशन समीरले गर्नेछन् । शुभमुहूर्त कार्यक्रममा निर्देशक समीरले चलचित्रले सुरुदेखि अन्त्यसम्म दर्शकलाई हँसाउने उद्देश्यसहित विशुद्ध मनोरञ्जनात्मक कमेडी प्रस्तुत गर्ने बताए । निर्माता प्रद्युम्न बोगटी (प्रबिन)ले उत्कृष्ट पारिवारिक हास्य चलचित्र निर्माण गर्ने लक्ष्यका साथ टोली अघि बढिरहेको उल्लेख गर्दै सबैको मेहनतले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । कार्यकारी निर्माता तथा कथाकार आभास अधिकारीले समाजमा घट्ने रमाइला र ठट्यौली घटनालाई पर्दामा उतार्ने प्रयास गरिएको बताए ।
चलचित्रमार्फत ‘दले दाइ’ नामबाट परिचित कमेडियन सुमन कोइरालाले अभिनयमा डेब्यू गर्दैछन् । चलचित्रमा धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, पुष्कर खतिवडा, राजश्री थापा, घनश्याम जोशीलगायतका कलाकारहरूको अभिनय रहनेछ । सह–निर्माताका रूपमा भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, पुष्कर खतिवडा, दिनेश श्रेष्ठ र अनिल शर्मा आबद्ध छन् ।
चलचित्रको छायाङ्कन विशाल कक्षपतिले गर्नेछन् भने संगीत अभिषेक कार्कीको रहनेछ । पटकथा तथा संवाद गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा तयार पारेका हुन् । करणबहादुर साउद मुख्य सहायक निर्देशक, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर तथा रबिन काजी शाक्य प्रोडक्सन डिजाइनरका रूपमा रहेका छन् ।
यसैगरी प्रदीप लामा र सियोन श्रेष्ठको कोरियोग्राफी, रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन, दिलमाया रोकाको मेकअप, अप्सरा कुँवरको हेयर स्टायल तथा रीजुन प्रधानको कस्ट्युम डिजाइन रहनेछ । सञ्चारकर्मीहरूसँग अन्तरक्रियासहित सम्पन्न शुभमुहूर्त कार्यक्रममा निर्माण टोलीले चलचित्रको सफल निर्माणप्रति उत्साह र आत्मविश्वास व्यक्त गरेको छ ।