नेपाली सांगीतिक रियालिटी शो ‘लोक दोहोरी स्टार सिजन–२’ को देशव्यापी अडिसन अभियान सुरु हुने भएको छ । एभेन्टोज स्टुडियोको आयोजनामा हुन लागेको शोले यसपटक सातै प्रदेशका प्रतिभाशाली गायक–गायिकालाई समेट्ने लक्ष्य लिएको छ ।
शोको निर्णायकको भूमिकामा चर्चित गायिका कोमल वली तथा गायक राजु परियार र चन्द्र शर्मा रहनेछन् । आयोजकका अनुसार पहिलो संस्करणले पाएको सकारात्मक प्रतिक्रियापछि दोस्रो संस्करणलाई अझ व्यवस्थित, भव्य र प्रतिस्पर्धात्मक बनाउने तयारी गरिएको हो ।
अडिसन यात्रा असार २७ गते इटहरीबाट सुरु हुनेछ। त्यसपछि असार २९ गते चितवन, असार ३१ गते बुटवल, श्रावण १ गते नेपालगञ्ज, श्रावण ४ गते पोखरा तथा श्रावण ८ र ९ गते काठमाडौंमा अडिसन सञ्चालन गरिने तालिका सार्वजनिक गरिएको छ ।
अडिसनका लागि इटहरीको क्लब के, चितवन गार्डेन रिसोर्ट, बुटवलको ग्रीन भ्याली रेस्टुरेन्ट, नेपालगञ्जको होटल बाटिका, पोखराको साइमन पार्टी प्यालेस तथा काठमाडौंको न्युजा पार्टी भेन्यु एन्ड रेस्टुरेन्टलाई स्थलका रूपमा चयन गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा १६ वर्ष वा सोभन्दा माथिका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । महिला र पुरुष दुवैका लागि खुला रहने प्रतियोगितामा लोक सङ्गीतप्रति रुचि र समर्पण भएका, मौलिक लोक भाका तथा शैलीमा राम्रो दख्खल राख्ने, स्पष्ट उच्चारणसहित प्रभावकारी प्रस्तुति दिन सक्ने तथा तत्काल दोहोरी सिर्जना गरेर प्रस्तुत गर्न सक्ने प्रतिभालाई प्राथमिकता दिइने आयोजकको भनाइ छ ।
‘लोक दोहोरी स्टार सिजन–२’ एपीवान एचडी टेलिभिजनबाट प्रसारण हुनेछ ।