साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘गौँथली’ प्रदर्शनअघि नै दर्शकमाझ चर्चा बटुल्न सफल भएको छ । केही दिनअघि सार्वजनिक गरिएको ट्रेलरले युट्युबमा उल्लेखनीय प्रतिक्रिया पाउँदै ७ लाख ३० हजारभन्दा बढी भ्यूज हासिल गर्नुका साथै मुभी सेक्सनको ट्रेन्डिङको पहिलो स्थानमा पुगेर चलचित्रप्रतिको दर्शकको चासो झन् बढाएको छ ।
‘गौँथली’ नाम नेपाली चलचित्र इतिहाससँग पनि जोडिएको छ । दुई दशकअघि डा. भोला रिजालले यही नाममा निर्माण गरेको चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । ५१ दिनसम्म सफल प्रदर्शन भएको उक्त चलचित्रपछि अहिले उनका छोरा डा. कपिल रिजालले सोही नाममा नयाँ पुस्तालाई लक्षित गर्दै फरक कथा र प्रस्तुतिसहित चलचित्र निर्देशन गरेका हुन् ।
सार्वजनिक ट्रेलरले ग्रामीण परिवेशमा हुर्किएकी ‘गौँथली’ नामकी एक प्रतिभाशाली किशोरीको शिक्षा प्राप्त गर्ने सपना, बालविवाह, पारिवारिक बन्धन र सामाजिक विभेदबीचको संघर्षलाई भावुक र प्रभावशाली ढंगले प्रस्तुत गरेको छ ।
चलचित्रमा अरुण क्षेत्रीले सरल, निष्कपट र फरक स्वभावको पात्र निभाएका छन्, जसले गौँथलीको शिक्षाप्रतिको चाहनामा साथ दिन खोज्छ । सिम्रन खड्काले शीर्ष भूमिकामा संघर्ष, पीडा र आत्मविश्वासलाई जीवन्त रूपमा प्रस्तुत गरेकी छन् । ट्रेलरमा दुवै कलाकारको अभिनयलाई दर्शकले विशेष रुचाएका छन् ।
‘छोरीलाई पढाउनुपर्छ’ भन्ने सशक्त सामाजिक सन्देश बोकेको चलचित्रले पहाडी गाउँको यथार्थ जीवन, सामाजिक सोच र महिलाले भोग्ने चुनौतीलाई समेटेको छ । ट्रेलरले पाएको सकारात्मक प्रतिक्रियाका आधारमा प्रदर्शनपछि पनि चलचित्रले दर्शकको राम्रो साथ पाउने अपेक्षा गरिएको छ ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्कासँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपाली, बाल कलाकार अंशु ओली र प्रिन्स नेपालीको अभिनय रहेको छ ।
चलचित्रका कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन् ।
डा. भोला रिजालको कथामा निर्माण भएको चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले तयार पारेका हुन् । हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन, मुकेश शाहको ध्वनि मिश्रण, राजेन्द्र मोक्तानको रङ संयोजन तथा रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी रहेको चलचित्रमा गिरिराज घिमिरे मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् ।