नेपाली चलचित्र ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूलाई समेट्दै पारिवारिक परिवेश र विवाहको उल्लासपूर्ण माहोल प्रस्तुत गरिएको छ ।
पोस्टरको केन्द्रमा अभिनेता दील श्रेष्ठ हल्दी समारोहमा देखिएका छन् । उनीसँगै मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठ पनि रमाइरहेको दृश्य पोस्टरमा समावेश गरिएको छ ।
विवाहअघि मनाइने हल्दी समारोहलाई आकर्षक ढंगले प्रस्तुत गरिएको पोस्टरमा झकिझकाउ सजावट, पारिवारिक माहोल र सबै पात्रको हर्षित मुद्राले सम्पन्न परिवारको विवाह समारोहको संकेत गर्छ ।
अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको यो चलचित्र हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा छ । रेखाले आठ वर्षपछि निर्देशनमा पुनरागमन गर्दै यो फिल्म निर्देशन गरेकी हुन् । यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी छन् । ‘माया भनेकै यस्तो होला’ उनको तेस्रो निर्देशकीय फिचर चलचित्र हो ।
यसपटक रेखाले आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ भन्दा बाहिर रहेर ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा चलचित्र निर्देशन गरेकी हुन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दील श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन् । विशेष भूमिकामा पूर्व मिस नेपाल उषा खड्गीको अभिनय रहेको छ । साथै लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतका कलाकारको पनि अभिनय छ ।
चलचित्रका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन् । ध्रुव लम्सालको पटकथा रहेको यस चलचित्रले सुमधुर प्रेमकथासँगै सामाजिक भावना र पारिवारिक सम्बन्धलाई केन्द्रमा राखेर कथा प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ ।
चलचित्रमा सुदीप बरालको छायांकन, प्रशान्त सिवाकोटीको संगीत, अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, सुजेनी मल्ल ड्रेस डिजाइनर, प्रिया कार्की मेकअप तथा चुडामणि (सीएम) प्रोडक्सनको जिम्मेवारीमा रहेका छन् ।
‘माया भनेकै यस्तो होला’लाई देशभर रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले संयुक्त रूपमा वितरण गर्नेछन् । यस चलचित्र आगामी भदौ २६ गते प्रदर्शनमा आउने तयारिमा रहेको छ ।