नेपालमा प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘गौँथली’को अमेरिका प्रदर्शन अधिकार (यूएस राइट्स) बिक्री भएको छ । चलचित्रको अमेरिका वितरण अधिकार सेभेन सिस इन्टरनेसनल फिल्म्सले खरिद गरेको निर्माण टिमले जनाएको छ ।
अधिकार हस्तान्तरणसम्बन्धी सम्झौतामा चलचित्रका निर्देशक डा. कपिल रिजाल, कलाकार अरुण क्षेत्री, निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्म्सका तर्फबाट रोशन सुवेदी सहभागी भएका थिए ।
प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण पक्षले अन्तर्राष्ट्रिय बजारमा चलचित्रको वितरण अधिकार बिक्री प्रक्रिया अघि बढाएको हो । निर्देशक कपिल रिजालका अनुसार चलचित्रप्रति दर्शकको उत्साह बढेसँगै विदेशबाट प्रदर्शन अधिकारका लागि चासो पनि उल्लेख्य रूपमा बढिरहेको छ ।
नेपालमा साउन १ गते रिलिज हुने ‘गौँथली’ त्यसको एक सातापछि अर्थात् साउन ८ गते (जुलाई २४) देखि अमेरिकाका विभिन्न प्रमुख शहरमा एकसाथ प्रदर्शन हुनेछ ।
निर्देशक रिजालले चलचित्रको बढ्दो चर्चा र सकारात्मक माहोलले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो अवसर सिर्जना गरेको बताए । उनका अनुसार चलचित्रको प्रचारसँगै ओभरसिज बजारबाट निरन्तर प्रदर्शन अधिकारका लागि सोधपुछ भइरहेको छ ।
‘गौँथली’ नाम नेपाली चलचित्र इतिहाससँग पनि जोडिएको छ । दुई दशकअघि डा. भोला रिजाल ले यही नाममा निर्माण गरेको चलचित्र नेपाली चलचित्र क्षेत्रकै पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म)का रूपमा चिनिन्छ । ५१ दिनसम्म प्रदर्शन भएको उक्त चलचित्रपछि अहिले डा. भोला रिजालका छोरा डा. कपिल रिजालले सोही नाममा नयाँ चलचित्र निर्देशन गरेका हुन् ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सन को प्रस्तुतिमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपाली को अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपाली देखिएका छन् ।
चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेका छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन् ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरे ले संयुक्त रूपमा तयार गरेका हुन् । चलचित्रमा हरि हुमागाईं को छायांकन, मिलन श्रेष्ठ को सम्पादन तथा गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेका छन् ।