नेपाली भाषा, साहित्य, संगीत, कला तथा सामाजिक सेवामा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउँदै आएका वरिष्ठ स्रष्टा अमर वान्तु र हरि ढुंगेललाई ‘हिमालयन इन्टरनेशनल अवार्ड–२०२६’ अन्तर्गत ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ ।
हिमालयन इन्टरनेशनल अवार्डको छैटौं संस्करणमा गीत–संगीत, साहित्य, कला र संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा उहाँहरूले पुर्याएको दीर्घकालीन योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गर्न लागिएको अवार्ड संयोजक गीता अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वान्तु र ढुंगेलले दशकौँदेखि नेपाली सिर्जनात्मक क्षेत्रलाई समृद्ध बनाउन पुर्याएको योगदानको सम्मानस्वरूप यस वर्षको दीर्घसाधना सम्मान प्रदान गर्ने निर्णय गरिएको हो ।
सिक्किममा जन्मिनुभएका हरि ढुंगेल नेपाली साहित्य, अभिनय, गीत–संगीत तथा सामाजिक सेवामा सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । सरकारी सेवाबाट अवकाशपछि पनि उहाँ साहित्य सिर्जना, सांस्कृतिक गतिविधि र सामाजिक सेवामा निरन्तर समर्पित रहँदै आउनुभएको छ । उहाँका ‘हिमशिखा’, ‘मेरो जिन्दगी’, ‘अमृत वर्षा’, ‘यात्रा अमेरिकाको’ र ‘हिमालदेखि सागरसम्म’ लगायत सात वटा कविता, कथा, गीत र नियात्रासम्बन्धी कृति प्रकाशित छन् ।
हाल नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्षसमेत रहनुभएका ढुंगेलले अभिनय क्षेत्रमा पनि उल्लेखनीय योगदान दिनुभएको छ । विभिन्न नाटक, चलचित्र र वृत्तचित्रमा अभिनय गर्नुभएका उहाँ सफल गीतकारका रूपमा पनि परिचित हुनुहुन्छ । उहाँका शब्दमा सिर्जना भएका ‘मन्दिरमा दीप जल्यो सम्झेँ तिमीलाई’, ‘आज म धेरै खुलेछु’, ‘टुटेको विश्वास जोडिन्न भन्थे’, ‘गीत गुञ्जियो बैंश छरियो’, ‘लाग्यो लौ लाग्यो’, ‘एकदिनको भेटमा माया बस्यो’ लगायत दर्जनौँ गीत लोकप्रिय छन् ।
यस्तै, भोजपुरमा जन्मिनुभएका वरिष्ठ गीतकार अमर वान्तु नेपाली गीत–साहित्यका स्थापित स्रष्टा हुनुहुन्छ । बाल्यकालदेखि नै संगीतप्रति रुचि राख्नुभएका उहाँले विद्यालय जीवनदेखि नै गीत, कविता तथा साहित्यिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आउनुभएको थियो। वि।सं। २०४५ मा गीतकार बन्ने सपना बोकेर काठमाडौं आउनुभएका वान्तुले हालसम्म १५० भन्दा बढी गीत सिर्जना गरिसक्नुभएको छ। जीवन, प्रेम, समाज र दर्शनलाई सरल तर गहिरो भावमा प्रस्तुत गर्ने उहाँको लेखन शैली नेपाली गीत–साहित्यमा विशिष्ट मानिन्छ ।
वान्तुका ‘परिभाषाका राँटाहरू’(९केही गीत, केही कविता) कृति तथा ‘अमर भावना’ र ‘अमर भावना–२’ एल्बम प्रकाशित छन् । उहाँद्वारा रचित ‘गर्मी भयो धरान’, ‘जीवन मृत्यु’, ‘काठै भाकाले’, ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’, ‘तिम्रै प्रवाह’, ‘जिन्दगीको दौडमा’, ‘सिल्की कपाल उड्यो’, ‘तिम्रो शहर’ लगायतका गीत श्रोतामाझ लोकप्रिय छन् । उहाँका केही गीत करोडौँ भ्यु क्लबमा समेत पुगेका छन् । गीतकार, कवि, गजलकार तथा सामाजिक अभियन्ताका रूपमा उहाँले निरन्तर योगदान दिँदै आउनुभएको छ । साथै गीतकार संघको अक्षयकोष र आदर्श कन्या निकेतनमा ‘अमर वान्तु अक्षयकोष’ स्थापना गरेर सामाजिक कार्यमा पनि योगदान पुर्याउनुभएको छ ।
आयोजकका अनुसार वान्तु र ढुंगेललाई प्रदान गरिने सम्मान दुई व्यक्तिको योगदानको मात्रै कदर नभई नेपाली भाषा, साहित्य, संगीत, कला र संस्कृतिको दीर्घकालीन सेवाप्रतिको सम्मान पनि हो । उहाँहरूको सिर्जनात्मक यात्रा भावी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।
यसअघि राजु सिंह, स्वर्गीय गुरुदेव कामत, चन्द्रकला शाह, ज्ञानु राणा तथा खड्ग गर्बुजा दीर्घसाधना सम्मानबाट सम्मानित भइसकेका छन् ।
अवार्ड समारोहमा नेपाली गीत–संगीत क्षेत्रका स्रष्टा तथा कलाकारलाई विशेष सम्मान गरिनुका साथै कला पत्रकारलाई पनि सम्मान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी दिनुभयो। बालप्रतिभालाई ‘राइजिङ स्टार अवार्ड’ समेत प्रदान गरिने उहाँले बताउनुभयो ।
‘भाषा, साहित्य, कला र संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ को यस संस्करण साउन ३ गते (जुलाई १९) सिक्किमको राभङलामा आयोजना हुनेछ । नेपाल र भारतका नेपालीभाषी कलाकार तथा स्रष्टालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना हुँदै आएको यस अवार्डको अघिल्लो संस्करण थाइल्यान्डको बैंककमा सम्पन्न भएको थियो । आयोजकका अनुसार हिमालयन इन्टरनेशनल अवार्डले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर योगदान पुर्याउँदै आएको छ ।